डेङ्गुका कारण चितवनमा पर्यटकको चहलपहलमा कमी
असोज ७, काठमाण्डौ – नेपालको अधिकांश क्षेत्रमा साउन महीना देखि डेङ्गुको सङ्क्रमणका बढेपछि पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण देशको विभिन्न पर्यटकीय स्थानहरुमा पर्यटकको चहलपहल कम भएको छ ।
भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन न्यून सङ्ख्यामा आएका छन् । चितवनस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार विगत वर्षहरुमा यतिबेला दैनिक एक हजार हाराहारी पर्यटक सौराहा भित्रने गर्दथे तर यस वर्ष यो सङ्ख्या २०० को हाराहारी मात्र छ । यस वर्ष वर्ष आउने पर्यटक दैनिक २०/३० को हाराहारी रहेका छन् भने समूहमा आउने २०० भन्दा कम छन् ।
गत वर्षमा समूहमा आउने पर्यटक र बसमा आउने पर्यटक पाँच/पाँच सय हाराहारी हुने गरेको उहाँको भनाइ थियो । सौराहाबाट दैनिक छ वटा बस काठमाडौँ र दुई वटा बस पोखरा चल्ने गर्दछन् । ती बसमा न्यून पर्यटक मात्र आउने गरेका छन् । अहिले जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण चढ्ने गरेका कारण ती बसले खर्च धानेको जनाइएको छ ।
सौराहा क्षेत्रमा डेङ्गु नदेखिए पनि जिल्लाको शहरी क्षेत्रमा डेङ्गु देखिएकाले त्यसैको हल्लाका कारण पर्यटक घटेको अध्यक्ष भट्टराईले बताउनुभयो । पछिल्लो समयमा सौराहा क्षेत्रमा डेङ्गुको सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिनुभयो । जिल्लामा पनि असोज लागेसँगै यस्ता रोगीको सङ्ख्या घटेर गएको र अहिले डेङ्गु नियन्त्रणको क्रममा रहेको उहाँको भनाइ थियो ।
सौराहाका १२० होटलको सात हजार हाराहारी पर्यटक अटाउने क्षमता छ तर यहाँ डेङ्गुको सङ्क्रमण छैन भन्ने सन्देश समयमा नै पु¥याउन सकेमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने व्यवसायीहरूको भनाइ छ । यति बेला यूरोपेली र चिनियाँ पर्यटक मात्र सौराहा आएका छन् ।






