माक्सवादी दर्शन र नेपाली साहित्यबारे बहस

तामसालिङ खबर
२० पुष २०७६, आईतवार ११:०४

पुस २०, हेटौंडा – महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको दर्शन र गद्य आख्यान विभागको सहकार्य शनिबार हेटौंडामा विचार गोष्ठी र रचना वाचन कार्यक्रम भएको छ ।

कार्यक्रममा माक्र्सवादी दर्शन र समकालिन नेपाली कथामा त्यसको प्रयोग तथा समकालिन नेपाली उपन्यासमा अञ्चलिकता विषयमा कार्यपत्र प्रस्तुत, टिपप्णी तथा बहस भएको थियो ।

माक्र्सवादी दर्शन र समकालिन नेपाली कथा विषयमा समालोचना तथा निवन्ध विभाग प्रमुख प्रा. डा. गोपिन्द्र पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्रमा माक्र्सवाद जीवनजगत्लाई बुझ्ने, व्याख्या गर्ने र बदल्ने उन्नत एवम् वैज्ञानिक चिन्तन भएको उल्लेख गरेका छन् । दर्शनका दुई शाखा आदर्शवादी दर्शन र भौतिकवादी दर्शनमध्ये माक्र्सवाद द्वन्द्वात्मक भौतिकवाद एवम् ऐतिहासिक भौतिकवादको योगबाट निर्मित दार्शनिक चिन्तन एवम् प्रणाली भएको बताए ।

समाज वर्गमा विभक्त भए अनुरूप कला साहित्यले निरन्तर रूपमा वर्गीय पक्षधरता तथा वर्गसङ्घर्षको पक्षपोषण गर्नुपर्ने कार्यपत्रमा उल्लेख छ । नेपाली समाज र जीवनपरिवेशका सन्दर्भमा २०५२ सालयताको समयावधि नै समकालीनता भएको उल्लेख छ । उनको कार्यपत्र माथि मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक घनश्याम घिमिरेले टिप्पणी गरेका थिए ।

त्यस्तै, समकालिन नेपाली उपन्यासमा अञ्चलिकता विषयमा साहित्य संगम मकवानपुरका अध्यक्ष निमिष निखिललले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले भूगोल, संस्कृति, समाज र भाषालाई मुख्य आधार बनाएर कुनै स्थानविशेषका पात्र र त्यहाँको मनो–सामाजिक–सांस्कृतिक समग्र चरित्रलाई पृथक ढङ्गले प्रस्तुत गर्ने उपन्यास नै आञ्चलिक उपन्यास भएको उल्लेख गरेका छन् ।

उपन्यासमा पाइने आञ्चलिकतालाई पूर्ण, आंशिक र आभासिक गरी तीन प्रकारमा वर्गीकरण गर्ने परम्परा रहेको कार्यपत्रमा उल्लेख छ । आञ्चलिकताको आभास भएका उपन्यासको रचना नेपाली उपन्यासको माध्यमिक कालमै भएको मानिए पनि शङ्कर कोइरालाको खैरेनी घाट उपन्यास नेपाली आञ्चलिक उपन्यासको पहिलो आदर्श मानिने उनले बताए ।

नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभौगोलिक आयाम बोकेको वर्गीय समाज भएको देशमा आञ्चलिक उपन्यास लेखनका बहुसम्भावनाहरु प्रचुर रुपमा रहेका निखिलले कार्यपत्रमा उल्लेख गरो छन् । उनको कार्यपत्र माथि आँचलकी सहसचिव निरा शर्माले टिप्पणी गरेकी थिइन् । दुवै कार्यपत्र माथि कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर कार्यपत्र प्रस्तुतकर्ताले दिएका थिए ।

कार्यक्रमको दोस्रो भागमा रचना वाचन गरिएको थियो । कार्यक्रममा गजल, गद्य कविता, छन्द कविता, मुक्तक, हास्यव्यंग्य कविता, बाल कविता प्रस्तुत गरिएका थिए । आँचलकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति जगतप्रसाद उपाध्याय रहेका थिए ।

कार्यक्रममा प्राज्ञ सदस्य तथा आख्यान विभाग प्रमुख माया ठकुरी, साहित्यकार आरसी रिजाल, मुना अर्याल, देवराज खरेललगायतका साहित्यकारको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*