हेटौंडा १४ मा डम्फु पार्क निर्माण सम्पन्न, नगरप्रमुख लामाबाट उद्घाटन

जेठ, हेटौंडा – तामाङ समुदायको सांस्कृतिक पहिचान र गौरवको प्रतीक ‘डम्फु’ झल्किने डम्फु पार्क हेटौंडा उपमहानगरपालिका १४ मा निर्माण सम्पन्न भएको छ । शुक्रबार एक विशेष समारोहबीच हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले सो पार्कको औपचारिक उद्घाटन गर्नुभयो।
हेटौंडा १३ र १४ नम्बर वडाको सिमानामा निर्माण गरिएको डम्फु पार्क तामाङ समुदायको संस्कृति, मूल्य र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको हो ।
पार्क उद्घाटन गर्दै नगरप्रमुख मीनाकुमारी लामाले भनिन्, डम्फुलाई समेटेर बनाइएको पार्क केवल सौन्दर्यको विषय मात्र होइन, हाम्रो समुदाय र संस्कृतिको संरक्षण र सम्बर्द्धनको एउटा नमूना योजना हो।” उहाँले डम्फुलाई प्रत्येक सांस्कृतिक कार्यक्रममा आवश्यक अंगका रूपमा उल्लेख गर्दै नयाँ पुस्तामा यसको चेतना फैलाउन यस्तो संरचना उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
वडा नं. १४ का अध्यक्ष दिपक खड्काले आफ्नो वडामा तामाङ समुदायको ठूलो उपस्थिति रहेकाले डम्फु पार्कले सांस्कृतिक परिचयलाई थप मजबुत बनाउने बताए। उनले आगामी दिनमा पार्कलाई थप व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन आवश्यक पहल गरिने प्रतिबद्धता पनि व्यक्त गरे।
नगरपालिकाको रु. ५ लाख बजेटमा निर्माण सम्पन्न गरिएको पार्कले स्थानीयवासी र आगन्तुकको ध्यान खिच्न थालेको छ। पार्कले मनोरञ्जन मात्र होइन, सांस्कृतिक ज्ञान प्रसार गर्ने स्थलको रूपमा समेत भूमिका खेल्ने अपेक्षा गरिएको छ।
पार्क उद्घाटन कार्यक्रममा वडा नं. १४ का सदस्यहरू बिना थिङ, श्यामकुमार भोलन, वडा नं. १३ की सदस्य रन्जु गोम्जा, श्री छोर्बा बोम्बो, तथा डम्फु सेलो संस्था मकवानपुरका अध्यक्ष ताराबहादुर बम्जन लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी, कलाकार, सञ्चारकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। डम्फु पार्कको निर्माणसँगै हेटौंडामा तामाङ समुदायको सांस्कृतिक पहिचान झल्किने अर्को आकर्षण थपिएको छ।