घरदैलोमै नागरिकता, राक्सिराङको घुम्ती शिविर प्रभावकारी
चैत्र, राक्सिराङ – मकवानपुरको राक्सिराङ गाउँपालिकाले सञ्चालन गरेको एकीकृत बृहत् घुम्ती शिविरमार्फत नागरिकता, राष्ट्रिय परिचयपत्र, स्वास्थ्य तथा अन्य सरकारी सेवा घरदैलोमै प्रदान गरेको छ। वडा नम्बर–९ डन्टारमा आयोजित शिविरमा सदरमुकाम हेटौँडासम्म पुग्न नसक्ने चेपाङ, दलित तथा विपन्न समुदायका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्।
शिविरमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले ७२ वर्षीया सुन्तली प्रजा, ५४ वर्षीया सुन्तली परियारसहित ३० जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्नुभयो। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद पौडेलका अनुसार जनप्रतिनिधिको सिफारिस र सनाखतका आधारमा बस्तीमै पुगेर नागरिकता प्रदान गरिएको हो।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले ‘सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ अभियानअन्तर्गत नागरिकले सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार शिविरमार्फत १ हजार ८२ जनालाई राष्ट्रिय परिचयपत्र तथा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ।
शिविरमा स्वास्थ्य परीक्षण, निःशुल्क आयुर्वेद सेवा, बहुक्षेत्रीय पोषण कार्यक्रम, सुनौलो हजार दिनका गर्भवती तथा सुत्केरी आमालाई स्वच्छता सामग्री र तरकारीको बिउ वितरण, साथै योजना अनुगमन तथा मूल्याङ्कनका कार्यसमेत गरिएको गाउँपालिकाले जनाएको छ। यसअघि पनि गाउँपालिकाले वडा नम्बर–१ बाट घुम्ती शिविर अभियान सुरु गरेको थियो।

ताम्सालिङ खबर






