राक्सिराङमा घरदैलोमै स्थानीय सरकार, एकीकृत घुम्ती शिविर सुरु

ताम्सालिङ खबर
११ चैत्र २०८२, बुधबार २०:३६

चैत्र, (हेटौडा) राक्सिराङ – मकवानपुरको राक्सिराङ गाउँपालिकाले ‘सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारासहित बृहत् एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै टोलबस्तीमै पुगेर सेवा प्रदान गर्न सुरु गरेको छ।

बुधबार वडा नम्बर १ बाट सुरु गरिएको शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले नागरिकले सामान्य सेवा लिन गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न अभियान सुरु गरिएको बताउनुभयो। उहाँले नागरिकले सकेसम्म आफ्नै वडा र टोलबाट सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नु अभियानको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो।

शिविरमार्फत स्वास्थ्य परीक्षण, निःशुल्क आयुर्वेद सेवा, बहुक्षेत्रीय पोषण कार्यक्रम, सुनौलो हजार दिनका गर्भवती तथा सुत्केरी आमालाई स्वच्छता सामग्री र तरकारीको बिउ वितरण, अपाङ्गता परिचयपत्रका लागि पहिचान तथा प्रशासनिक सेवासमेत एकै स्थानबाट उपलब्ध गराइएको छ।

गाउँपालिका उपाध्यक्ष वनस्थम थिङले न्यायिक समितिसहित पालिकाले प्रदान गर्ने विभिन्न सेवाहरू एकीकृत रूपमा उपलब्ध गराउँदा नागरिकलाई सहज भएको बताउनुभयो। कृषि तथा पशुपन्छी कार्यक्रमअन्तर्गत १८० जना कृषकलाई घाँसको बीउ र औषधि, २०० थान तरकारी मिनीकिट, २० थान टनेल प्लास्टिक, ३ थान मिनी टिलर, १० थान स्प्रे पम्प र २० वटा ग्रीन नेट वितरण गरिएको छ।

शिविरमा २५० जनाले आयुर्वेद सेवा र २६० जनाले स्वास्थ्य परीक्षण सेवा लिएका छन्। त्यसैगरी २५ जना सुनौलो हजार दिनका आमालाई स्वच्छता सामग्री, चार जनालाई अपाङ्गता परिचयपत्र, पाँच जनालाई मौरीपालन प्रविधि हस्तान्तरण, २४ जनालाई उद्यमशीलता परामर्श तथा ५० जनाले बेरोजगार दर्ता फाराम भरेका छन्।
कार्यक्रममा १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै पाँच वटा बिद्यालयलाई एक विद्यालय-एक ल्यापटप कार्यक्रम अन्तर्गत पाँच वटा ल्यापटप र एउटा प्रिन्टर समेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*