हेटौडामा रिपोर्ट लुकाउँदा देशभर फैलियो बर्डफ्लु

हेटौंडा : हेटौंडाका किसालने पालेको कुखुरामा बर्डफ्लु भएको तथ्य लुकाउँदा अन्यत्र पनि बर्डफ्लु फैलिएको आशंका गरिएको छ । गत फागुन पहिलो साताबाट हेटौंडा ६ र ७ नम्बर वडाका किसानले पालेको कुखुरा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्राविधिकले परीक्षण गर्दा गम्भीर प्रकृतिको संक्रमण देखिएको थियो ।
लगत्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहलमा नमूना संकलन गरी परीक्षणका लागि केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो । फागुन २८ गते मात्र प्रयोगशालाले बर्डफ्लु पुष्टि गर्दै पठाएको पत्र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले फागुन ३० गते सार्वजनिक गर्यो ।
लगत्तै जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको चार किल्ला तोकेर कुखुरा बिक्री वितरणमा रोक लगाई रोगी कुखुरा नष्ट गर्ने अभियान चलाएको थियो । हालसम्म एक दर्जन बढी किसानले पालेको कुखुराको नमूना पठाउँदा प्रयोगशालाले बर्डफ्लु पुष्टि गर्दै प्रतिवेदन दिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
‘प्रयोगशालाबाट रिपोर्ट ढिला आउँदा बर्डफ्लु प्रभावित क्षेत्रका बिक्री गर्न योग्य कुखुरा विभिन्न ठाउँमा पुगे तामाङले भने, ‘त्यसपछि काठमाडौं, भक्तपुर, चितवनलगायतका ठाउँमा पनि बर्डफ्लु देखिन थाल्यो ।’
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडा सँग रिपोर्ट ढिला आउनबारे जानकारी लिन पत्र काटिएको र जवाफ आइनसकेको उनले बताए ।
‘प्रयोगशाला र हेटौंडा केन्द्रका कर्मचारीको बदमासीले समयमा नै बर्डफ्लु रोग नियन्त्रणमा लिन सकिएन, उनले भने, हेटौंडाको ६, ७ र १६ नम्बर वडाका केही किसानले पालेको कुखुराको नमुना परीक्षणको काम भइरहेको तामाङले बताए । ‘अझै बर्डफ्लु पूर्ण नियन्त्रणमा आएको छैन, उनले भने, ‘हालसम्म आफै मरेको र नष्ट गरिएको कुखुराको करिब ५६ हजार रहेको छ ।’
कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुनिल अधिकारीले बर्डफ्लु पूर्ण नियन्त्रणमा आइनसकेको बताए। ‘पाँच/दश प्रतिशत बाँकी छ, हामी क्षतिपूर्तिका लागि पहल गरिरहेका छौं, उनले भने, ‘ढिला रिपोर्ट आउनु र अन्यत्र पनि बर्डफ्लु देखिनु हाम्रो गल्ती होइन ।’
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख डाक्टर चेतनारायण खरेलले पशु चिकित्सकले चेकजाँच गरेपछि मात्र कुखुरा जिल्ला बाहिर बिक्री वितरण हुने भएकाले हालसम्म रोगी कुखुरा जिल्ला बाहिर नगएको दाबी गरे ।’ रोगी कुखुरा जिल्ला बाहिर गएको छैन, हामी बर्डफ्लुलाई पूर्ण नियन्त्रणमा ल्याउने गरी काम गरिरहेका छौं, ‘उनले भने । यो समाचार कृष्ण सारू मगरले अन्नपूर्णमा लेखेका छन् ।