फाटेको जुत्ता

पहाडको टुप्पोमा झुण्डिरहेको एकजोर फाटेको जुत्ताले
उ तलको बस्तिलाई सधै आफूले पैताला मुनि राखेर
सुरक्षा दिलाएको महसुस गर्छ ।
सदियौदेखि बस्ती लाचार लाचार छ
त्यहाँका मान्छेहरु सक्दैनन शिर उठाएर
पहाडसँग नजर जुधाउन ।
एक जमाना थ्यो,
पहाड को अञ्जुली भरी फूलेका गुराँसहरु
चुल्ठोमा सिउरेर
फापरे ह्वाइमा च्याङ्बा र माइच्याङहरु
प्रत्येक ढुङ्गासँग साइनो गाँस्दै
खाली खुट्टा भेडाको पछि
भ्वाङ भ्वाङती दगुरी हिड्थ्यो ।
गाउँभरिकै जुत्ता लगाउने एक मात्र दोर्जे आखे
लाहुरबाट फर्केसी,
त्यही पहाडसँगै मुस्कुराउने गर्थ्यो
त्यही पहाडसँगै खुसिहरु
फूलाउने गथ्र्यो ।
पहाडको टुप्पोमा बसेर पासाङले बजाएको बासुरिको धुनमा
आफ्नै बिगत खोजिरहेको दोर्जे आखे
एक दिन,
वर्तमान र भविष्य बिर्सिने गरि
लापत्ता भएदेखि
गुन्जनै छाड्यो सेलो र साइकोले भाका ।
ओइलेर झर्न थाल्यो गुराँसको
गुच्छा र चर्न बिस्र्यो चौरीगाईले ।
दोर्जे आखेले,
आफू रहनुको अर्थ बताउन
आफ्नै अंश जस्तै फाटेको एक जोर जुत्तालाई
बस्तिलाई सुरक्षा दिने आदेश दिएको कुरा
पहाडको बडेमान ढुङ्गामा रातो रङ्गले खोपिएको छ रे ।
सुनेको बेलाबेलामा
झुण्डिरहेको जुत्ताले साइरनको आवाज निकाल्छ रे ।
पहाडको टुप्पोमा झुण्डिरहेको एकजोर फाटेको जुत्ताले
उ तलको बस्तिलाई सधै
आफूले पैतालो मुनि राखेर
सुरक्षा दिलाएको महसुस गर्छ ।