साना किसान सहकारीको बार्षिक साधारण सभामा सम्मान नै सम्मान
कार्तिक २८, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ३ मा अबस्थित साना किसान कृषि सहकारी संस्था हाडीँखोलाको १० औं वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । आर्थिक बर्ष २०७५/०७६ मा १४ करोड ६० लाख रुपैया ऋण शेयर सदस्यलाई लगानी गरेको छ । संस्थाले वर्षभरिको कारोबार समेत प्रस्तुत गरेको थियो ।
विभिन्न शिर्षकमा रहेर शेयर सदस्यलाई ऋण लगानी गरिएको छ । जस मध्ये कृषिमा ९ करोड ७४ लाख १२ हजार, पशु/माछा/कुखुरा पालनमा ३ करोड ५५ लाख २२ हजार, व्यापारमा ५४ लाख ५४ हजार र मासुजन्य/दुग्धजन्यमा २ करोड ६३ लाख १२ हजार ऋण लगानी गरेको छ ।

सहकारी संस्थाले जेष्ठ शेयर सदस्यलाई नगद पाँच हजार सहित सम्मान गरेको छ । सम्मानित हुनेमा विष्णुमाया ठकुरी, ठुलीमाया मुक्तान, कान्छीमाया थिङ, वेदमाया खनाल र सन्तमाया आले रहेका छन् ।
त्यस्तै, उत्कृष्ठ शेयर सदस्यलाई नगद ४ हजार सहित सम्मान गरिएका छ । सम्मान हुने शेयर सदस्यहरुमा माया मुक्तान, बविता लामा, सरस्वती आचार्य, उर्मिला थापा, सुना पौडेल, तिउरीमाया थोकर, दयादेवी तिमल्सिना, सरस्वती गौतम, सीतामाया स्याङतान सीता थिङ रहेका छन् ।
सहकारीबाट विभिन्न शिर्षकमा ऋण लिई सफल कृषक बन्न सफल माछापालन गर्नेमा कुलकुमारी कार्कीलाइ सम्मान गरिएको छ । त्यस्तै बाख्रापालनमा चन्द्रकुमारी रेग्मी, च्याउखेतिमा मधुमाया थोकर, तरकारीमा सुनिता उप्रेती, कुखुरापालनमा लक्ष्मी लामा, गाइपालनमा समता खड्का, दुग्ध उत्पादकमा जीतकुमारी भट्ट, बंगुरपालनमा रमा थिङ र व्यापार ब्यबसायमा लक्ष्मी गौतमलाई नगद २ हजार सहित दोसल्ला ओडाई सम्मान गरिएको थियो ।

त्यस्तै, उत्कृष्ठ बचत कर्ता श्रृजना घलानलाई दुई हजार र उत्कृष्ठ बचत समूह २५२ लाई दश हजार सहित सम्मान गरिएको थियो । सहकारीले संस्थाका संस्थापक अध्यक्ष निर्मला उप्रेती सहित पूर्व सञ्चालक समितिको तारा गौतम, सविता सुवेदी र पुनम पौडेललाई सम्मान गरिएको थियो । सहकारी संस्थाका कार्यालय सहायक दुदुमाया स्याङ्तानलाई उत्कृष्ठ कर्मचारी घोषणा गर्दै एक थान ल्यापटप सहित सम्मान गरिएको थियो ।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय संस्था हेटौंडाको प्रबन्धक शेरबहादुर चौधरीको विशेष अतिथ्यता रहेको थियो । सभा संस्थाका अध्यक्ष राधिका ठकुरीको सभाध्यक्षतामा भएको थियो ।






