भारतबाट १ लाख मजदुर नेपाल भित्रँदै

तामसालिङ खबर
१ जेष्ठ २०७७, बिहीबार ०८:३२

जेठ १, काठमाडौं – भारत सरकारले लकडाउनकै बीचमा मंगलबारदेखि रेलसेवा सञ्चालन गरेलगत्तै भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका झन्डै १ लाख मजदुरले नेपाल भित्रने तयारी गरेका छन् । सम्भवतः दुई–तीन साताभित्र उनीहरू नेपाल आउन सक्ने जनाइएको छ ।

उनीहरू नेपाल भित्रिएसँगै सरकारले बोर्डर क्षेत्रमा व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न नसकेमा नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुन सक्ने चिकित्सकले बताएका छन् । भारतले आफ्ना विभिन्न राज्यमा १५ वटा रेलसेवा सञ्चालनमा ल्याएको छ ।

बिशेष गरि, नेपाली मजदुर र आफ्नै देशका मजदुरलाई घर फर्काउन भारतले रेलसेवा सुरु गरेको हो । भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

नेपालका विभिन्न जिल्लाबाट भारतका उत्तर प्रदेश, विहार, उडिसा, गुजरात र महाराष्ट्रमा रोजगारीका लागि गएका नेपाली मजदुरले स्वदेश फर्कन लखनउ र नेपाल नजिक पर्ने विभिन्न स्थानसम्मको टिकट बुकिङ गर्न थालेका छन् । गुजरातको अन्दाबादमा रहेका नेपाली मूलका चिकित्सक डा. सागर विश्वकर्माका अनुसार भारतले केही समयका लागि रेलसेवा खुलाए लगत्तै धेरै नेपाली स्वदेश फर्कने तयारीमा छन् ।

‘धेरै नेपालीले लखनउ सम्मको टिकट बुकिङ गरिसकेका छन् । अबको दुई-तीन साताभित्र उनीहरू नेपाल आउने तयारीमा छन्,’ डा. विश्वकर्माले भने । उनका अनुसार ती नेपाली लखनउ र अन्य स्थानको टिकट काटेर जनकपुर, नेपालगन्ज र वीरगन्ज हुँदै नेपाल प्रवेश गर्ने तयारीमा छन् ।

कोरोना भाइरससम्बन्धी अध्ययन गरिरहेका नेपाली चिकित्सक डा. रमेशकुमार आचार्यले भारतबाट तीन साताभित्रमा १ लाख मजदुर नेपाल भित्रने तयारी गरिरहेको बताए । उनले स्वदेश फर्कन खोज्ने ती नेपाली मजदुरलाई सीमा क्षेत्रमा नै क्वारेन्टाइन र आइसोलेसन बनाएर व्यवस्थापन गर्न नसकिएमा नेपालमा संक्रमणको दर भयावह रूपमा बढ्ने बताए ।

अहिले नेपालमा कोरोना भाइरसको संक्रमण अत्यधिक रूपमा बढिरहेको छ । पछिल्लो समयमा भारतीय नाका क्षेत्रमा नै संक्रमण भएका व्यक्तिको संख्या बढेको छ । आजको राजधानी दैनिकमा खवर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*