मकवानपुरको बागमतीमा भाषा लिपिको प्रशिक्षण शुरु

जेठ, हेटौडा (बागमती) – पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवर्द्धनका लागि पाँच दिने लिपि प्रशिक्षण कार्यक्रम शनिबारदेखि शुरु भएको छ। नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिको आयोजनामा तथा बागमती गाउँपालिकाको आर्थिक सहयोगमा प्रशिक्षण कार्यक्रम भएको हो ।
बागमती प्रदेशका नेपाल तामाङ घेदुङ अध्यक्ष लिला कुमार घलानको सभाध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष घलानले सहभागीहरूलाई प्रशिक्षणमा सिकेको ज्ञान व्यवहारमा उतार्न आग्रह गर्नुभयो। उहाँले भाषा संरक्षण र प्रयोगमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। प्रशिक्षणमा भाषा विज्ञ अजितमान तामाङ र नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका अध्यक्ष मोहन गोलेले प्रशिक्षण दिनुभएको थियो ।
भाषा विज्ञ तामाङले तामाङ समुदायको इतिहासबारे जानकारी दिँदै तामाङ भाषा विद्यालय तहदेखि इच्छाअनुसार डिग्री तहसम्म अध्ययन गर्न सकिने व्यवस्था हुनु पर्नेमा जोड दिनुभयो । त्यस्तै संघीय अध्यक्ष गोलेले तामाङ भाषा तथा अन्य आदिवासी भाषाको संरक्षण र प्रवद्र्धनका लागि नेपाल तामाङ घेदुङले गरेका प्रयासहरू प्रस्तुत गर्दै भाषा नीतिलाई व्यवहारमा उतार्न राज्य स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा गाउँपालिकाका शिक्षकहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।