प्रितम र आयुष ‘सारेगमप’ को सेमिफाइनलमा
काठमाडौ – भारतको चर्चित साँगीतिक रियालिटी शो ‘सारेगमप’ मा दुई नेपाली बालगायक सेमिफाइनलमा पुगेका छन् । नेपालका प्रितम आचार्य र आयुष केसीले फेसबुक मार्फत सारेगमप को सेमिफाइनलमा पुगेको जानकारी गराएका हुन् । भारतीय गायन रियालिटी कार्यक्रम ‘सारेगमप’ जी टिभीबाट शनिबार र आइतबार प्रशारण हुन्छ ।
सेमिफाइलनमा प्रितम र आयुषले अन्य चार प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु यो कार्यक्रममा सहभागी हुँदै आएका छन् । सारेगमपको यो संस्करणमा प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट अन्य ८ जना सहभागी भएका थिए ।
१२ वर्षका आयुष र ११ वर्षका प्रितम कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुति दिएपछि उनीहरु टप ३० मा पुगेका थिए । आयुष र प्रितम २०७२ सालमा आयोजना भएको शुरशाला जुनियर आइडलका प्रथम र द्वितीय विजेता हुन् । भारतीय गायन रियालिटी शो मा पुगेर नेपालकै नामलाई गौरव बनाइरहेका दुइलाइ जी फाइभ (Zee5) एप मार्फत भोट गर्न सकिन्छ ।






