लिच्चीका कारण विहारमा बालबालिकाको मृत्युको क्रम बढ्दो, हाल सम्म ४७ जनाको मृत्यु

तामसालिङ खबर
३२ जेष्ठ २०७६, शनिबार १६:१२

एजेन्सी – उत्तरी भारतमा धेरै लिच्ची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ। बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो।

स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो। चिनीमा रगतको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ। रगतमा चिनी कम हुनुका पछाडी लिच्चीमा हुने रसायन भूमिका खेलेको उनीहरूले बताएका छन्।

‘अन्तर्राष्ट्रिय विज्ञहरूले हामीलाई भनेअनुसार लिच्ची त्यस्तो प्रकारको रसायन हुन्छ। लिच्ची खाँदा त्यो रसायन कलेजोमा गएर बस्छ। जब तापक्रम बढ्छ त्यो रसायन कलेजोबाट बाहिर निस्कन्छ,’ विहारका स्वास्थ्य अधिकार सञ्जयकुमारले भने,‘ मुजफ्फारपुर धेरै लिच्ची फल्ने क्षेत्र हो। बालबालिकाको मृत्यु हुनुमा लिच्चीको भूमिका छ भन्ने हाम्रो शंका हो।

तर यो पनि सत्य हो की जब तापक्रम घट्छ र पानी पर्छ। लिच्ची खाए पनि नखाए पनि यस्ता घटना हुँदैनन्।’ बिरामी बालबालिकाका अभिभावकले छोराछोरी दिनभरी लिच्चीका रूखमा झुण्डिने र टन्न लिच्ची खाएर आउने भएकाले राति खाना नखाने बताएका थिए।

ल्यान्सेटको अध्ययन अनुसार बालबालिकाको रगतमा सुगरको मात्रा एक्कासी गिरावट हुँदा, कलेजोले फ्याटी एसिडलाई उपयोग गरेर शरीरको लागि आवश्यक ग्लुकोज बनाउन थाल्छ । यसले झनै रगतमा सुगरको मात्रा कमी ल्याउँछ र दिमाग सुन्निन थाल्छ । विरामी बालबालिकामध्ये दुई–तिहाई पिसावको नमूनाको अध्ययनले तिनले लिच्ची खाएको देखाएको थियो ।

सञ्जय कुमारले प्रभावित बालबालिका गरिब परिवार भएको र तिनको घरमा चिनीको उपभोग कम हुने भएकाले बालबालिकामा कुपोषण देखिएको बताए । सरकारले उक्त क्षेत्रमा अभिभावकलाई आफ्ना बालबालिकाको खानपिनमा ध्यान दिन जनचेतना फैलाइरहेको छ । त्यस अन्तर्गत बालबालिकालाई प्रशस्त पानी पिउन लगाउने र खाली पेट सुत्न नदिने प्रमुख सुझाव दिइएका छन् ।

कडा खालको इन्सेफलाइटिसमा दिमाग सुन्निने, ज्वरो आउने, चक्कर आउने र धेरै जसो विरामीलार्ई कोमामा लगेको पाइएको छ । विज्ञले अत्याधिक गर्मी, कम पौष्टिकता र आद्रतालाई यसको लागि जिम्मेवार बताएका छन् ।

मुजफ्फारपुरका दुई अस्पतालले गत जनवरीदेखि नै यस्ता किसिमका १ सय ७९ वटा बिरामी भर्ना गरेका थिए। बालबालिकाको मृत्यु भने केही साता अघिदेखि भइरहेको सीएनएनले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*