दशैँ, तिहारमा सरकारी स्वास्थ्य संस्थाको सेवा निर्बाध रुपमा संचालन गर्न मन्त्रालयको निर्देशन
असोज १३, काठमाडाैं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारको सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्य सेवा यथावत् राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्यसेवा यथावत् राख्न ११ बुँदे आग्रह जारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले स्वास्थ्य सेवा निरन्तर जारी राख्न आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका थिए ।
संविधानको प्रावधान अनुसार स्थानीय तहका स्वास्थ्य संस्थाको सञ्चालन स्थानीय निकायले गर्दछन् । सो आग्रहमा अस्पताल विपद् व्यवस्थापन समितिलाई पूर्व तयारी अवस्थामा रहने व्यवस्था मिलाउने, सबैै अस्पताल, अस्पतालका फार्मेसी तथा एम्बुलेन्स २४ सैघण्टा सञ्चालनको व्यवस्था मिलाउने र राजमार्ग वरिपरिका स्वास्थ्य संस्थालाई थप तयारीमा राख्ने व्यवस्था मिलाउने रहेका छन् ।
दशैंमा सेवा प्रभावित नहुनेगरी स्वास्थ्यकर्मीको बिदाको व्यवस्थापन गर्ने, हाल भइरहेको डेंगुु महामारीका रोकथाम तथा उपचार सेवा प्रभावित हुन नदिन विशेष व्यवस्था गर्ने, सम्भावित महामारी तथा अन्य स्वास्थ्य जोखिम व्यवस्थापन गर्न तयारी रहने, रक्तसञ्चार अभाव हुन नदिन ध्यान दिने र सेवामा रहेका स्वास्थ्यकर्मीका सम्पर्क नम्बर आकस्मिक कक्षमा राख्न समेत अनुरोध गरेको छ ।






