दुबईमा सवारी दुर्घटना हुँदा ६ नेपालीको मृत्यु
असोज १४, काठमाडौं – युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ ।
दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो । दुर्घटनामा रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।
उनीहरुको नेपाल स्थित ठेगाना खुल्न बाँकी छ । दानबहादुरको परिवारलाई भने कम्पनीले जानकारी गराएको र अरुको थप विवरण संकलन गरेर जानकारी गराइने दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताए ।
दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ ।






