लेकाली बसिफाँट माबिलाई आबासीय बिद्यालय बनाउन जापानी राजदुतावासले १ करोड जापनिज यान सहयोग गर्ने सम्झौता

तामसालिङ खबर
१५ आश्विन २०७६, बुधबार ०७:२८

असोज १५, हेटौडा (भीमफेदी) – मकवानपुरको उत्तरी क्षेत्र भिमफेदी गाउँपालिकाको वडा नम्बर ९ मा रहेको लेकाली बसिफाँट माध्यमिक बिद्यालयलाई आवासिय विद्यालय बनाउनको लागि जापानी राजदुतावासले सहयोग गर्ने भएको छ ।

पूर्ण आवासिय विद्यालय निर्माणको लागि विभिन्न सहयोग अभियान संचालन भैरहेको बेला जापानी राजदुतावासले १ करोड जापानी यन सहयोग गर्ने भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद लामाले जानकारी दिनु भयो ।

एकवर्ष भित्रमा १२ कोठाको छात्राबास, डाइनिङ तथा शौचालय सहितको दुईतले भवन निर्माण गर्ने गरी मंगलबार जापानी राजदुतावास काठमाण्डौंमा सम्झौता भएको अध्यक्ष लामाले बताए । सम्झौतामा जापानी राजदुतावासको तर्फबाट युजो योशिओकाले र विद्यालयको तर्फबाट प्रधानाध्यापक लड्डुलाल मण्डलले हस्ताक्षर गरेका छन् ।

सहयोग सम्झौता कार्यक्रममा अध्यक्ष लामा, प्रधानाध्यापक मण्डल, जाइटी नेपालका सल्लाहकार भिमलाल गुरुङ, व्यवस्थापक श्री बहादुर केसी, शिक्षक अभिभावक संघका अध्यक्ष सीताराम मोक्तान, शिक्षासेवी सीताराम रुम्बा लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै, विद्यालयलाई आवासिय विद्यालय बनाउनको लागि लायन्स क्लब भुटनदेवीको समन्वयमा पनि बेलायतबाट भवन निर्माणको लागि सहयोग गर्ने भएको छ । विद्यालयमा १ करोड ३५ लाखको लागतमा निर्माण गर्न लागिएको छात्रावास भवनका लागि सहयोग गर्ने भएको अध्यक्ष लामाले बताए ।

दशैलगतै केही विद्यार्थीहरुलाई आवासिय कार्यक्रम शुरु गर्नका लागि आवश्यक पूर्वाधार विकासमा नेपाल इज नामको अन्तरािष्ट्रय गैर सरकारी संस्थाले पनि सहयोग गरिरहेको लामाले बताए । सो संस्थाले अहिले विद्यालयमा रहेको छात्रावासको भवनमा फर्निचर लगायतको सामाग्री तयार गरिरहेको छ । संस्थाले विद्यालयमा ८ कोठे शौचालय निर्माण गरिसकेको छ ।

करिब चासय विद्यार्थी अध्ययनरत लेकाली बसीफाँट माविलाई पूर्ण आवासिय विद्यालय बनाउने अभियानमा भिमफेदी गाउँपालिकाले हालसम्म १३ लाख रुपियाँ सहयोग गरिसकेको विद्यालयले जनाएको छ । वि.सं. २०४९ सालमा जाइटी नेपालको सहयोगमा स्थापना भएको सो विद्यालयमा शत प्रतिशत तामाङ लगायत जनजाति विद्यार्थीहरु अध्ययन गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*