शरद ऋतुमा १० जनाले लिए, सगरमाथा आरोहणको अनुमति

तामसालिङ खबर
१५ आश्विन २०७६, बुधबार १८:२५

असोज १५, काठमाडौं – वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एकजनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए ।

तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा नौ र अर्को एकसहित १० रहेका उनको भनाइ छ । सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ ले अनुमति लिएका छन् । यो हिमाल संसारको आठौं र नेपालको सातौं अग्लो हिमाल हो । यसको उचाइ आठ हजार १५६ मिटर रहेको छ ।

त्यस्तै, आठ हजार ५१६ मिटर उचाइको लोत्से हिमाल आरोहणका लागि दुई समूहका १३ र सात हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि एक समूहका आठजनाले अनुमति लिएका छन् ।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार आठ हजार २६७ मिटर उचाइको धवलागिरि हिमाल आरोहणका लागि दुई समूहका ३० जनाले अनुमति लिएका छन् ।

अहिलेसम्म देशका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा ६८ समूहका ५१८ आरोही छन् । सोमा ११४ महिला र ४०४ पुरुष आरोही रहेका पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा निरौलाले जानकारी दिए । (नागरिक_खबर)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*