नारायणी नदीमा ‘सानो पानी जहाज’ सञ्चालन
असोज १६, चितवन – तिन नम्बर प्रदेश सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (सानो पानी जहाज ) सञ्चालन गर्ने तयारी भैरहेका बेला छुट्टै निजी क्षेत्रले नारायणी नदीमै मिनी क्रुज सञ्चालन गरेको छ ।
रंगमहल रिभर ल्याण्ड प्रालिले नारायणीमा मिनी क्रुज सञ्चालनमा ल्याएको हो । यसको औपचारिक शुरुवात भने दशैको फूलपाती शनिवारबाट शुरु गरिने प्रालिका अध्यक्ष रमन भट्टराईले जानकारी दिए ।
“हामीले अहिले टेष्ट ड्राईभ शुरु गरेका हौँ, यसलाई औपचारिक रुपमा फूलपातीवाट शुरु गर्ने छौ”, अध्यक्ष भट्टराईले बताए । मिनी क्रुज झट्ट हेर्दा सानो पानी जहाजकै स्वरुपमा छ । मिनी क्रुज पहिलो पटक गत आइतवार र सोमबार नारायणी नदीमा टेष्ट डाईभ गरिएको थियो । “अहिले हामी २० जना यात्रु राखेर यसमा चलाउन सक्ने छौं”, अध्यक्ष भट्टराईले भने । मिनी क्रुज सगै प्रालीले २ वटा जेट स्किम, २ वटा रिभर वोट र एक वनाना वोट पनि सञ्चालनमा ल्याएको छ । यसका लागि प्रालिले झण्डै साढे तीन करोड रुपियाँ लगानी गरेको छ ।
नारायणी नदीमा झण्डै दुई सय सिटको क्रुज अर्थात सानो पानी जहाज चलाउने तयारी भै रहेको अवस्थामा मिनी क्रुज पनि नारायणीमै आएको हो । प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा राइनो वाटर ईन्टरमेन्टेन्ट प्रालिले क्रुज वनाउँदै छ । दशैंअघि नै क्रुज चलाउने योजना भए पनि प्राविधिक कारणले यो सञ्चालनमा अझै एक महिना लाग्ने राइनोका प्रवन्ध निर्देशक रामचन्द्र कँडेलले बताए । कार्तिक महिना भरीमा क्रुज नारायणीमा सञ्चालनमा आउने बताएको छ ।
“प्रदेश सरकारले क्रुजको पार्किङ्ग स्थल अर्थात पोर्ट (बन्दरगाह ) निर्माणका लागि एक करोड रुपियाँ अनुदान सहयोग गरेको हो ”, प्रबन्ध निर्देशक कँडेलले भने,–“पोर्ट बनाउदै गर्दा यसले नारायणी नदीको कटान पनि रोक्ने उदेश्य राखिएको छ ।” क्रुज सञ्चालन गर्ने वेला सम्म जम्मा २५ करोड खर्च हुने र अहिले क्रुज वनाउन मात्रै १५ करोड रुपियाँ खर्च भएको उनले बताए । “साढे दुई तलाको क्रुजमा २०० सिट रहने छ”, कँडेलले भने, “क्रुज भित्रै खाना खाँजा समेतको ब्यवस्था गरेर यात्रा गराइने योजना हाम्रो हो ।”
पर्यटन वर्ष २०२० नजिकदै गरेको समयमा नारायणी नदीमा मिनी क्रुज नयाँ आर्कषण बनेको छ । मिनी क्रुज नै सञ्चालनमा आएपछि यसले अझै प्रभावकारिता बढ्ने चितवन पर्यटन विकास समितिका महासचिव विश्वप्रसाद सुवेदीले बताए ।
#बिकास_न्युज






