घरकाे सेप्टी ट्याङकीमा एकै परिवारको ५ जनाकाे शव
असाेज १६, बारा – एकै घरका ५ जनाको शव घरभित्रै रहेकाे ट्यांकी (खाल्डाे) भित्र भेटिएको छ । बाराको फेटा गाउँपालिका– ४ एक घरभित्रै रहेको अन्दाजी ६ फिट गहिरो साे ट्यांकीमा ती शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएकाे छ । उक्त ट्यांकी मदिरा उत्पादनका लागि बनाइएकाे खुलेकाे छ ।
जिप्रका बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले बताए अनुसार उक्त शवहरू एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको रहेकाे खुलेकाे छ । मृत अवस्थामा फेला पर्नेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ करिब ३५ वर्षीय महेन्द्र मुखिया बिन लगायत रहेका छन् । मृतक महेन्द्रका श्रीमती र उनका २ छोरी भने घर बाहिर भएकोले सुरक्षित रहेको बताइएकाे छ ।
बुधबार राति ८ बजेतिर प्रहरीले साे घटना सम्बन्धी जानकारी पाए लगत्तै अनुसन्धान थाल्न जिप्रका बाराका प्रमुख एसपी विकासराज खनाल सहितको टोली त्यस तर्फ गएको थियो ।
घटना रहस्यमय रहेकाे छ । उनीहरूकाे मृत्युकाे कारण थाहा हुन सकेकाे छैन । ट्यांकीभित्र निसासिएर ज्यान गुमाएको हुन सक्ने प्रारम्भिक अनुमान छ यद्यपि थप रहस्य अनुसन्धानपछि खुल्ने देखिन्छ ।






