तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने – संचारमन्त्री बाँस्कोटा
असोज १६, काभ्रे – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपा नगरद्वारा चाडपर्वको अवसरमा बिहिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै विकासका कामलाई तीव्रता दिँदै तीन वर्षभित्र विकासशील मुलुकमा सूचीकृत हुने दाबी गर्नुभएको हो ।
मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामीलाई गरीबी चुनौती बनेको छ, सरकारले क्रमैसँग गरीबी निवारण गर्न रोजगारी सिर्जना, सीप, विकास, प्राविधिक शिक्षा तथा जीवनलाई सजिलो बनाउन सेवा क्षेत्रलाई प्रभावकारी बनाउने कार्यक्रम ल्याउँछ ।” उहाँले सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अवधारणासँगै देशको १८ प्रतिशत गरीबीलाई क्रमैसँग घटाउँदै लगिने पनि बताउनुभयो ।
मन्त्री बाँस्कोटाले सरकार सुन्दर नेपाल, सुखी, स्वाधीन, आत्मनिर्भर नेपाल बनाउने अभियानमा दत्तचित्त भएको बताउनुभयो । “हामी सकारात्मक आलोचना ग्रहण गरी जनतालाई एकाकार गर्दै मुलुक निर्माणको महाअभियानमा छौँ” उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य गोमा भुर्तेल, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादे, नेकपाका नेता रामहरि सुवेदी, हरिदेव गिरी, भैरव केसी, कुमार तिमल्सिना, मुक्ति विष्टलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।






