टासी हिसे गुम्बामा पशुपन्छीहरुको चिरशान्तिको कामना गर्दै ङयुङने मौन ब्रत सम्पन्न

तामसालिङ खबर
२० आश्विन २०७६, सोमबार १४:०४

असोज २०, हेटौडा – प्रत्येक वर्ष गरिदै आईरहेको ङयुङने मौन ब्रत हेटौडा २ स्वयम्बु डाँडामा रहेको टासी हिसे गुम्बामा आज सम्पन्न भएको छ । गत १७ गते देखि शुरु भएको ङयुङने मौन ब्रतको लागि धर्मगुरु लोपेन निमा तामाङको नेतृत्व भएको तिन दिने मौन ब्रत सम्पन्न भएको हो ।

बौद्धधर्मलम्बिहरुले दशैको बेला पर्वका नाममा लाखौं पशुपन्छीहरुको वली दिएको बेला ती प्राणीहरुको चित्तले चीर शान्ति प्राप्त गरोस् भनेर फापा चेङरेसी (आर्य अवातालोकेश्वर) को बन्दना गरेको हुन्छ । यसबाट ती अकालमा मारिएका प्राणीहरुको उद्धार, मुक्ति हुन्छ भन्ने विश्वास गरिन्छ ।

बौद्धधर्म अनुसार यसरी एकपटक निराहार मौन ब्रत बस्दा ४० कल्पसम्मका क्लेश(पापकर्म) कट्टी भइ मानव जीवनमा जन्म हुन्छ भन्ने विश्वास छ । ङयुङने मौन ब्रत अन्तर्गत बसिने ब्रतमा बौद्ध धर्मावलम्बी तामाङ, गुरुङ,शेर्पा,थकाली एवं हिमाली समुदायहरु दशैंका बेला तीन दिने ङयुङने मौन ब्रत बस्ने गर्दछन् ।

ब्रतको लागि मकवानपुर जिल्ला सहित ताप्लेजुङ, काभ्रे, लुम्बिनी चितवन लयगतका स्थानबाट ६४ जना लामा,आनी,ज्योमो, ब्रतालु उपासक, उपासिकाहरुको सहभागिता रहेको गुम्बाको ब्यबस्थापन समितिको अध्यक्ष कालु घलानले जानकारी दिनु भयो ।

३ दिने मौन ब्रत गत १७ गते साझ जम्मा, १८ गते सोक्छ्योङ (एक छाके खाना) १९ गते कुक्प्पा(निराहार मौन ब्रत) २० गते आज पुजापाठ संगै गुरुबाट वाङ (अभिषेक) गरि सबैलाई खादा ओडाई समापन भएको छ ।

यस्तै, आज नै मकवानपुरको विभिन्न गुम्बामा ङयुङने मौन ब्रत सम्पन्न भएको छ, केहि स्थान भने भोलि मात्र समापन हुने भएको खबर प्राप्त छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*