कलंकी–नौबिसे सडक मर्मत सुरु, एकतर्फी मात्र सवारी सञ्चालन हुने

तामसालिङ खबर
३० आश्विन २०७६, बिहीबार १६:३२

काठमाडौं – काठमाडौं उपत्यका बाहिरिने र भित्रने मुख्य थानकोट नाका सडक खण्डमा केही समय सवारी आवतजावतमा समस्या हुने भएको छ ।

कलंकीदेखि नौबिसेसम्मको सडकखण्डमा एकतर्फी रूपमा सवारी आवतजावत गराएर मर्मत गर्न थालिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गरेर मंगलबारबाट सुरु भएको मर्मत कार्यका कारण सडकमा अवरोध आउने जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले सडक मर्मत अवधिभर उक्त सडकखण्डमा एकतर्फी मात्र सवारी सञ्चालन हुने बताए । सडक विभागका प्रवक्ता शिवहरि पौडेलले कलंकी नौबिसे सडकखण्डमा मर्मतको काम जारी रहेको र अहिले पनि त्यसैको निरन्तरता रहेको बताए ।

‘बिग्रेको ठाउँमा बनाउने, पिच उक्केको टाल्ने नियमित काम भइरहेको थियो, अहिले पनि त्यसैको निरन्तरता हो’ उनले भने ।

महानगरीय ट्राफिक प्रहरी अनुसार बिहान ९ बजेदेखि कंलकी–थानकोट सडकखण्ड (ढुंगेअड्डामा) र दिउँसो १ बजेदेखि नागढुंगा–नौबिसे सडकखण्डमा एकतर्फी सवारी सञ्चालन गरेर मर्मतको काम हुनेछ ।

ट्राफिक प्रहरीले उक्त सडकखण्डमा जथाभावी ओभरटेक नगरी लेन अनुशासन पालना गर्न सडक प्रयोगकर्तालाई आग्रह पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*