बैतडीमा डोजरले आक्रमण गर्ने चालक बोहरा प्रहरीको नियन्त्रणमा
कार्तिक ५, बैतडी – बैतडीमा सडक खन्ने क्रममा डोजरले महिलामाथि आक्रमण गर्ने चालक किशोर बोहरालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकस्थित आफ्नो खेतमा सडक खन्ने क्रममा अवरोध गर्ने महिला गौरी जोशीलाई डोजरले हिर्काउने चालक बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।
डोजरले महिलालाई हिर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । डोजर चालक बोहरालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बैतडीमा राखिएको डीएसपी डिल्लीनारायण पाण्डेयले बताए ।
उनका अनुसार घटनामा घाइते भएका जोशीसहित ७ जनाको कैलाली र बैतडीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सडक खन्न अवरोध गर्ने क्रममा दुवै पक्षबीच ढुंगा हानाहान समेत भएको थियो ।






