तिथि बिगारेको भन्दै नेवार समुदायले गर्यो, पात्रोको बहिष्कार

तामसालिङ खबर
५ कार्तिक २०७६, मंगलवार २२:००

तिहारमा नेवार समुदायद्वारा मनाईने स्वन्तिः को तिथि बिगारेको भन्दै नेवार समुदायले राष्ट्रिय पञ्चांग अर्थात् पात्रो बहिष्कार गरेको छ। राष्ट्रिय पञ्चांग निर्णायक समितिले ०७६ को तिहारमा पर्ने म्हःपूजा र नेपाल संवतलाई बेग्ला बेग्लै दिनमा राखेको छ।

जबकि यी दुवै एकै दिन सम्पन्न गर्नुपर्ने नेवारी परम्परा रहँदै आएको छ। संस्कृतिविद् हरिराम जोशीका अनुसार तिथिलाई लहरै उल्लेख नगरी टुटाएमा व्यावहारिक पक्षमा धक्का लाग्ने गर्छ। यसपालिको तिहारमा यस्तै भएको छ।

यमपञ्चक भनेकै पाँच दिन मनाउने पर्व हो। घडी र पला हेरेर समितिले तिहारलाई चार दिनमा समेटेको छ। ‘मौलिक पर्वहरूमा सिद्धान्तभन्दा व्यावहारिक पक्ष हेर्नुपर्छ,’ संस्कृतिविद् जोशीले भने, ‘पञ्चांग समितिले सिद्धान्तलाई मात्र महत्व दिँदा व्यावहारिक पक्ष गडबड हुन पुगेको जोशीको भनाइ छ। समितिले बनाएको पात्रोमा यमपञ्चकका रूपमा मनाइने तिहारको पहिलो दिन कात्तिक ९ गते काग तिहार परेको छ।

१० गते कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन पर्न गएको छ भने ११ गते म्हःपूजा र १२ गते गोवर्धन पूजा, नेवार समुदायको न्हु दँ (नयाँ वर्ष) अर्थात् नेपाल सम्वत ११४० र भाइटीका परेको छ। पात्रोमा उल्लेखित यो तिथि नेवार समुदायले मनाउने स्वन्ति पर्वसँग मेल खाँदैन। पात्रोमा औंसीका दिन म्हःपूजा राखिएको छ। जबकि नेवार समुदाय कछलाथ्व प्रतिपदाका दिन बिहान ‘न्हु दँ’ को रूपमा नेपाल सम्वत मनाउँछन् भने साँझ आत्मपूजा गर्ने भन्दै म्हःपूजा गर्छन्।

नेवार समुदायको व्यावहारिक पक्षलाई हेर्ने हो भने पात्रोमा उल्लेखित ११ गतेको म्हःपूजा १२ गते मंगलबार मनाउनु पर्ने हुन्छ। पात्रोअनुसार तिहार मनाउन कठिन भएपछि नेवारहरूको प्रतिनिधिमूलक संस्था नेपालभाषा मंकाः खलले समितिबाट प्रकाशित पात्रोका आधारमा तिहार नमनाइ नेवारी परम्पराअनुसार ‘स्वन्ति’ मनाउन स्थानीयलाई आह्वान गरेको छ।

मंकाः खलका सचिव नरेशवीर शाक्यका अनुसार पञ्चांग समितिले घडी र पला हेरेर तिथि तय गर्दा धेरै पर्व एकैदिन पर्न गएको छ जुन व्यावहारिक छैन। शाक्यले भने, ‘यसपालि औंसीका दिन म्हःपूजा छ। इतिहासमा यस्तो कहिल्यै भएको थिएन।’ ११ गते म्हःपूजा राख्दा नेपाल संवत ११३९ मै दुई पटक म्हःपूजा हुन जानुले पात्रोमै गल्ती भएको उनको ठम्याइ छ। नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले भने पात्रो बनाउँदा व्यावहारिक पक्ष नभइ शास्त्रलाई नै मान्नु पर्ने बताएका छन्।

पात्रोमा विवाद निस्किएसँगै नेवार समुदायले यस वर्षको भाइटीका १२ गते नभएर १३ गते बुधबार मात्र मनाउने निर्णय गरेका छन्। नेवार समुदायले यस वर्षको तिहारमा १० गते भनिएको लक्ष्मी पूजा ११ गते मनाउने छन्। र १२ गते नेपाल सम्वत् र म्हपूःजा मनाउने भएका छन्। पात्रोको विवाद सल्टाउन र १३ गते नेवार समुदायलाई सार्वजनिक बिदा दिन जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओली संग भेटबार्ता गरेको छ। यस विषयमा क्याबिनेटमा छलफल गरी निर्णय गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*