उपनिर्वाचनको चुनाबी सर्गम – कास्की २ मा को बन्ला रवीन्द्रको उत्तराधिकारी ?

तामसालिङ खबर
८ कार्तिक २०७६, शुक्रबार ०९:१३

कार्तिक ८, पोखरा – आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनको सरगर्मी कास्कीमा ह्वात्तै बढेको छ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि ठूलादेखि साना पार्टीका नेताहरु ‘च्याँखे दाउ’ मा व्यस्त छन् ।

बुधबारमात्रै रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सो क्षेत्रका लागि उम्मेदवार घोषणा ग¥यो । दुई महिना अघि प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट साझामा प्रवेश गरेकी रजनी केसीले चुनावी प्रतिबद्धतासँगै देश विकासका लागि मनैदेखि सोचेर अघि बढेको बताएकी छन् ।

अघिल्लो चुनावमा भारी मतान्तरले पराजित बने पनि साझाले हिम्मत हारेको देखिन्न । अरु पार्टीले चुनावी अभियान नथाल्दै साझा पार्टी चुनावी मैदानमा उत्रिसकेको छ । ‘मतान्तर बढी छ । तर, असम्भव छैन,’ उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै साझा पार्टीका संयोजक मिश्रले भने, ‘चुनाव जित्छौं भन्ने कन्फिडेन्स छ ।’

उम्मेदवार रजनी साझाकी प्रभावशाली नेतृ भएर पनि होला, साझाले कास्की–२ मा आफूलाई अब्बल ठानेको छ । ‘जित्ने आधार प्रशस्त छन्,’ संयोजक मिश्र दाबीका साथ भन्छन्, ‘जित्नका लागि नै चुनाव लड्दै छौं ।’ बुधबार उम्मेदवार घोषणा गरेसँगै साझा पार्टी उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्ने पहिलो पार्टी बनेको छ ।

केही समय अघिसम्म सो क्षेत्रमा नेकपा नेता वामदेव गौतमको चर्चा सुनिन्थ्यो । अहिले वामदेवले हात झिकिसके । वामदेवको सट्टा सोमनाथ प्यासीदेखि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र पत्नी विद्या भट्टराई सम्मको चर्चा सुनिन्छ । वामदेवले हात झिकिसकेपछि विद्या भट्टराईकै सम्भावना बढेको चर्चा स्थानीय स्तरमा चलिरहेको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले आन्तरिक सहमति जुटाउन नसक्दा १६ जनाको नाम केन्द्रीय समितिसमक्ष सिफारिस गरिसकेको    छ । कांग्रेसका कास्की जिल्ला उपसभापति आइतबहादुर गुरुङका अनुसार सहमति जुट्न नसकेपछि १६ जना कै नाम पठाइएको    हो ।

‘हाम्रो विधानमा के उल्लेख छ भने पहिलो उम्मेदवार क्षेत्रले चयन गर्ने, जतिसुकै दाबेदार भए पनि विधानअनुसार ३ जनाभन्दा बढी पठाउन नसक्ने भन्ने उल्लेख छ,’ उनले भने, ‘तथापि धेरै छलफल भयो, बहस भयो, क्षेत्रीय कार्यसमितिले ३ जनाको मात्र नाम पठाउन सकेन । धेरै आकांक्षी भएपछि सबैको नाम जस्ताको त्यस्तै पठाइयो ।’

अघिल्लो निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा ७० हजार ६ सय ५१ मतदाता रहेकोमा मतदाता बढेर ७२ हजार २ सय पुगेको निर्वाचन आयोगले जनाएको छ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीले भारी मतान्तरले चुनाव जितेका थिए । रवीन्द्र र प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसे बीच ८ हजार ५ सय ४६ मतान्तर थियो ।

दसैं अघिसम्म कास्कीमा निकै सक्रिय देखिएको समाजवादी पार्टी भने यतिबेला चुपचापजस्तै छ । यद्यपी समाजवादी पार्टी पनि उम्मेदवार टुंगो लगाउने तयारीमा रहेको जनाइएको छ । अघिल्लो चुनावमा तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी पार्टी पनि यो क्षेत्रको चुनावी मैदानमा थिए ।

साना पार्टीले चुनावी च्याँखे दाउ थापे पनि नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेस नै कास्की क्षेत्र नम्बर २ को मुख्य प्रतिश्पर्धीका रुपमा देखिएका छन् । तत्कालीन पर्यटनमन्त्री विद्या चुनावमा उठे सहानुभुति भोटले पनि उनले चुनाव चर्चा कास्कीमा सुनिन्छ ।
कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वडा पर्छन् । रातोपाटी डटकमबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*