अमेरिकी सरकारले टीपीएस सुविधाको म्याद थप्यो
अमेरिका – नेपालमा सन् २०१५ मा गएको भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीलाई दिएको टीपीएस सुविधा १० महिना थपिएको छ । अमेरिकामा रहेका नेपालीलाई अमेरिकी सरकारले प्रदान गरेको कागजात सम्बन्धी सुविधा टेम्प्रोररी प्रोटेक्ट स्टाटस अर्थात् टीपीएस अब सन् २०२१, जनवरीको ४ तारिख सम्म कायम रहनेछ ।
सन् २०१५ मा हजारौंको नेपालीको ज्यान जाने गरी गएको भूकम्पपछि तिनका परिवार र नेपालको भूकम्पमा हातेमालो गर्ने उदेश्यले अमेरिकी सरकारले टीपीएस सुविधा उपलब्ध गराएको थियो । अमेरिकी सरकारले नेपाल लगायत अन्य ६ मुलुकलाई प्रदान गरेको टीपीएस थपिएको हो । नेपालले यसअघि सन् २०२० को मार्च २४ तारिख सम्म यस्तो सुविधा पाएको थियो ।
सुविधा थपिए सँगै यस्तो स्टाटसमा रहेका नेपालीले सन् २०२१ जनवरी सम्म काम गर्ने कागजात, वर्क परमिट र नेपाल जानआउन पाउने पत्र, ट्राभल डकुमेन्ट प्राप्त गर्नेछन् । यस्तो सुविधा लिने नेपालीको संख्या अमेरिका करिब ९ हजार हाराहारी रहेको जनाइएको छ ।
अमेरिकामा सरकारले आफ्नो सूचना पाटी मार्फत टीपीएस सुविधा एकपटक लिएका र पुनः लिन चाहनेहरूका लागि अवसर रहेको उल्लेख गरेको छ । सरकारले एकपटक सुविधा लिएका र बीचमा निवेदन दिन छुटेकाका लागि पुनः निवेदन दिन सक्ने उल्लेख गरेको छ । त्यसका लागि सन् २०१५ मा टीपीएस लिएको हुनुपर्ने र बीचमा पुनः दर्ता नर्गनुको कारणसहित पुनः निवेदन दिनु पर्नेछ ।
सन् २०१५ मा गरिएको प्रयास झैँ यसलाई नेपाली समुदाय एक भएर सहकार्य गर्नुपर्ने र पहुँच पुग्नेहरूले सिनेटरलाई भेटेर, टीपीएस सुविधालाई ग्रिन कार्डसम्म लैजानका लागि अमेरिकाका सेटल भएका नेपाली लागी परेका छन् ।
अमेरिकी सरकारले नेपाल सहित एलसाल्भाडोर, हाइटी, होण्डुरस, निकारागुवा, सुडानको टीपीएस कागजात सुविधा अवधि लम्ब्याउने निर्णय गरेको हो। अन्नपुर्ण पोस्टबाट साभार






