प्रदेश ५ को लुम्बिनीमा मंसिर १ गते देखि समाचार महोत्सब

तामसालिङ खबर
२९ कार्तिक २०७६, शुक्रबार १४:१२

कार्तिक २९, लुम्बिनी – नेपालको पर्यटकीय गन्तव्यको केन्द्र लुम्बिनीमा संघियता पछिको पत्रकारिता विषयमा समाचार महोत्सवको आयोजना गरी सम्पादक र पत्रकारहरुबीच बृहत छलफल हुने भएको छ ।

लुम्बिनी प्रेस क्लबको आयोजनामा आगामी मंसिर १ गतेदेखि ३ गते सम्म चल्ने लुम्बिनी समाचार महोत्सव(न्यूज फेस्टिभलको) क्रममा देशका छापा, रेडियो, टिभी र अनलाइन मिडियाका सम्पादक तथा देशैभरबाट आउने पत्रकारबीच विभिन्न सत्रमा छलफल गर्ने गरी तयारी गरेको प्रेस क्लबका अध्यक्ष तथा लुम्बिनी न्यूज फेस्टिभल मूल आयोजक समितिका संयोजक दिपेश पछाईंले बताए । कार्यक्रममा देशका स्थापित वरिष्ठ सम्पादक र पत्रकार गरी ३०० जनाको सहभागिता रहनेछ । कार्यक्रममा देशभरबाट प्रकाशित पत्रिका पनि प्रदर्शनीका लागि राखिने बताइएको छ ।

लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर र नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा लुम्बिनीमा हुने तीनदिने न्यूज फेस्टिभलले नेपाली पत्रकारिता जगतमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । कार्यक्रममा मोफसलको समग्र पत्रकारिता, संघीयतामा प्रेसको संरचना, पर्यटन प्रबर्द्धनमा पत्रकारको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाको विषयमा छलफल हुने आयोजकले बताएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, पूर्वअध्यक्षहरु किशोर नेपाल, विष्णु निष्ठुरी, शिव गाउँले, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, राससका अध्यक्ष हरिहर अधिकारी, रघु मैनाली, मोहन मैनाली र सात प्रदेशका पत्रकार महासंघका अध्यक्ष लगायतका उपस्थिति रहने निश्चित भएको आयोजकले बताएका छन् ।

त्यसतै, दोस्रो दिन बिहान मायादेवी मन्दिर अगाडि ध्यान गुरुमार्फत ध्यान हुनेछ । त्यसलगत्तै ‘पत्रकारिता : चुनौती र भविष्यको बाटो’ भन्ने विषयमा समूह गत छलफल हुनेछ । त्यसैगरी सोही दिन ‘सङ्घीयतामा रेडियो’ विषयमा छलफल हुनेछ ।

त्यसपछि सहभागीहरुलाई बुद्धको अष्टधातु रहेको रामग्राम नवलपरासी भ्रमण गराउने कार्यक्रम रहेको छ । रामग्रामको कार्यक्रम नेपाल पत्रकार महाससंघ नवलपरासीले संयोजन गर्ने भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा अर्को सत्र सम्पन्न हुनेछ । उक्त सत्रपश्चात ‘सङ्घीयतामा समावेशी सञ्चार’ विषयमा छलफल हुनेछ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*