सांसद आलम पुर्पक्षका लागि कारागार चलान
कार्तिक २९, काठमाडौँ – रौतहट जिल्ला अदालतले बम विस्फोटका घाइतेलाई इट्टा भट्टामा ज्यूदै जलाएर मारेको आरोप लागेका सांसद मोहम्मद अफताब आलम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालतमा पाँच दिनसम्म चलेको थुनछेक बहसपछि आलमलाई कारागार चलाउने आदेश भएको हो । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन मतदातालाई प्रभावित बनाउन बम बनाउँदै गर्दा विष्फोट भएको र विस्फोटका घाइतेलाई नजिकैको इट्टाभट्टामा हालेर मारेको आरोप आलम माथी थियो ।
आलम नेपाली कांग्रेसतर्फ रौतहटबाट संघीय संसदका लागि निर्वाचित सांसद हुन्। बम विस्फोट र इट्टाभट्टामा जलाएर कतिलाई मारिएको थियो भन्ने तथ्याङ यकिन छैन। घटना लगत्तै जिल्ला सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको भन्दै फाइल बन्द गरेको थियो। तर पिडितका आफन्तले सर्वोच्च अदालतमा रिट दर्ता गरेपछि घटनाका पुन अनुसन्धान गर्न आदेश भएको थियो, सात वर्षअघि ।
घटनाको १२ वर्षपछि रौतहट प्रहरीले अनुसन्धान गर्दै आलमलाई पक्राउ गरेको थियो । प्रहरीले आलमसहित ११ जनालाई प्रतिवादी बनाउन राय सहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । जिल्ला अदालत, रौतहटका न्यायाधीश दीपक ढकालको एकल इजलासले उक्त आदेश गरेको हो।






