प्रदेश २ कै अग्लो बुद्धमूर्ति बारामा निर्माण हुने
मंसिर ५, बारा – प्रदेश नम्बर २ को गौरीशंकर माध्यमिक विद्यालय बारा निजगढका पूर्व विद्यार्थीको समूहले निजगढ ४ को मोहोरी पार्कमा आकर्षक बुद्धको मूर्ति बनाउने भएको छ । विस २०५७ व्याचले प्रदेश २ कै ठूलो ४० फिट अग्लो बुद्धमूर्ति निर्माण गर्न शिलान्यास गरिएको छ । मूर्तिको निर्माण समितिका संयोजक खड्गराज मैनाली, रामहरी खरेल अभिषेक चिमरिया, पूजा सापकोटा र दीपा बस्नेतले सयुक्त रुपमा शिलान्यास गरे ।
पर्यटन आकर्षण गर्ने मोहोरी पार्कमा शान्तिका दूत भगवान बुद्धको मूर्ति निर्माणले त्यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने निर्माण समितिका संयोजक मैनालीले बताए। उनले पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी आन्तरिक र बाह्य पर्यटनलाई आकर्षित गर्ने उद्देश्य रहेको बताए। पिकनिक पार्कका रुपमा चिनिदै गएको मोहोरीमा पूर्व विद्यार्थी समूहको सहयोगमा इन्टरनेट सेवा सञ्चालन समेत सञ्चालन गरिएको छ ।
मोहोरीको माथिल्लो भागबाट निजगढ-काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) बन्दै गरेको छ। मोहोरीमा बारा-मकवानपुर जोड्ने झोलुङ्गे पुल समेत निर्माण गरिएको छ। लाल बकैया खोला तिरमा रहेको पार्कमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको बेलामा अग्लो बुद्धमूर्तिले थप आकर्षण थप्ने निजगढ नगरपालिका ४ का वडा अध्यक्ष जयराम कुमरले बताए।
सहयोग जुट्दै पूर्व विद्यार्थीको समूहका सदस्य र विभिन्न संघ-संस्थाबाट सहयोग जुटाएर मूर्ति निर्माण गरिने समूहको योजना छ। निर्माण पूरा गर्न करिब ६० लाख खर्च हुने समूहको अनुमान छ। ४० जनाको समूहमा सक्रिय पूर्व विद्यार्थीको नेतृत्वमा विभिन्न ठाउँबाट सहयोग जुटाएर मूर्ति निर्माण गर्न लागेका हुन्। शिलान्यासका लागि बकैया बालुवा प्रशोधन केन्द्रबाट एक टिपर बालुवा, नेपाल क्रसर उद्योगबाट २ टिपर गिट्टी सहयोग गरेका छन्।
निर्माण सामग्री ओसार-पसारका लागि निजगढ नगरपालिकाको सवारी साधन सहयोग गरिरहेको छ। निर्माण क्षेत्रमा खानेपानी, विद्युत जडान सहित ५ लाख खर्च भइसकेको छ। निर्माण सहयोगका लागि सहकारी संघ-संस्थालाई पत्र पठाइएको छ।






