श्रीलंकाका राष्ट्रपतिले आफ्नै दाजुलाई बनाए प्रधानमन्त्री
एजेन्सी – श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोताबाया राजपाक्षेले प्रधानमन्त्रीमा बुधवार आफ्नै दाइ महिन्दा राजापाक्षेकाे नाम प्रस्ताव गरेका छन् । प्रधानमन्त्री रणिल विक्रमासिंघेले राजीनामा दिने घोषणा गरेपछि उनले यस्तो घोषणा गरेका हुन् ।
विक्रमासिंघेले बिहीवार औपचारिक रूपमा राजीनामा दिएपछि महिन्दाले पदभार ग्रहण गर्ने जनाइएकाे छ । महिन्दा हाल विपक्षी दलका नेता हुन् । महिन्दा राजापाक्षे श्रीलंकाका पूर्व राष्ट्रपति समेत हुन् र नातामा गाेताबायाका दाइ हुन् ।
विक्रमासिंघेले मंगलवार राष्ट्रपति राजपाक्षेसँग भेट गरी संसद्को भविष्यबारे छलफल गरेका थिए । संसद्मा आफ्नो सरकारको बहुमत भए पनि राष्ट्रपतिको पाएको नयाँ जनादेशलाई ख्याल गरी राजीनामा दिएको बताएका छन् ।
राष्ट्रपतीय निर्वाचनमा गोताबाया राजापक्षे विजयी भएपछि उनलाई राजीनामा दिन दबाब परेको थियो । राजपाक्षेले सानो आकारको प्रारम्भिक नयाँ मन्त्रिपरिषद् गठन गर्ने जनाइएको छ ।
सन् २०२० को मार्च १ पछि नयाँ संसद् बन्ने भएकाले त्यतिबेलासम्म सानो मन्त्रिपरिषद् मात्रै रहनेछ । स्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ । नयाँ मन्त्रीहरू सबै राजपाक्षेको दलबाट हुनेछन् ।






