चेपाङ संघद्धारा तीन पत्रकार र दुइ सस्थालाई सम्मान

तामसालिङ खबर
७ मंसिर २०७६, शनिबार ०७:२७

मंसिर ७, चितवन – अल्पसङख्यक चेपाङ समुदायको क्षेत्रमा समाचारको माध्यमबाट योगदान गरेको भन्दै चितवनमा तीन जना पत्रकारलाई सम्मान गरेको छ । लामो समय देखि स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा काम गर्दै आएका चितवनका गोरखापत्रकर्मी शालिग्राम नेपाल, मकवानपुरका शिवकुमार काशी र कान्तिपुरकर्मी रमेशकुमार पौडेललाई शनिबार भरतपुरमा प्रशंसापत्रले सम्मान गरेको हो ।

चेपाङ समुदायको हकअधिकार र उनीहरुको समस्याका विषयमा सञ्चार माध्यम मार्फत् उजागर गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको नेपाल चेपाङ संघ केन्द्रीय समितिका अध्यक्ष जितेन्द्र चेपाङले जानकारी दिए ।

कार्यक्रममा चेपाङ समुदायको उत्थान, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सामाजिक सेवाको माध्यमबाट काम गरेको भन्दै मकवानपुर राक्सीराङको लिसा हिमालयन इभी र चितवनको गामबेसी चेपाङ घरलाई सम्मान गरेको छ । संघको ३ नम्बर प्रदेशको अधिवेशन कार्यक्रममा प्रदेश ३ का कानुनमन्त्री शालिकराम जमरकट्टेलले प्रशंसापत्र दिएका थिए ।

मकवानपुरको राक्सीराङ क्षेत्रमा रहेर १० वर्षदेखि चेपाङ समुदायको शिक्षा स्वास्थ्यको क्षेत्रमा लिसा हिमालयन इभीले काम गर्दै आएको पूर्वसंविधानसभा सदस्य गोविन्दराम चेपाङले जानकारी दिए । चितवनको रत्ननगरमा रहेको गामबेसीको चेपाङ घरका केपी किरण शर्माले १० वर्ष भन्दा अगाडि देखि विपन्न चेपाङलाई निःशुल्क खानबस्न र पठाउने काम गर्दै आएका छन् ।

कार्यक्रममा ३ प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जमरकट्टेलले गरिब विपन्नको घरघरमा सरकार पुग्न नसकेको बताएका छन् । लामो समयपछि आएको परिवर्तनले जनप्रतिनिधिलाई अधिकार स्थानीय तहसम्म दिए पनि त्यो अधिकार गरिब विपन्नले उपयोग गर्न नसकेको उनको विचार छ ।

कार्यक्रममा प्रदेश ३ का सांसद ओमबहादुर ग्लान, चेपाङ संघका उपाध्यक्ष सुनिमाया चेपाङ लगायतले अल्पसख्यक चेपाङ भूमिहिन भएर बस्नु परेको भन्दै यसमा राज्य जिम्मेवार हुनुपर्ने बताए । धादिङ, मकवानपुर र चितवनबाट भेला भएका प्रतिनिधिहरुले आफ्नो क्षेत्रमा भएका समस्या, राज्यसँग माग, गर्नुपर्ने कामलगायतको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*