बन्दीपुरमा सिसाको ‘दृश्य स्तम्भ’

तामसालिङ खबर
१० मंसिर २०७६, मंगलवार १०:०१

मंसिर, तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका स्थित टुँडिखेलमा सिसाको ‘दृश्य स्तम्भ’ निर्माण गरिने भएको छ । बन्दीपुरको पर्यटन प्रबर्द्धनमा थप योगदान पुर्याउने उद्देश्यले गाउँपालिकाले सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्न लागेको हो ।

बन्दीपुरको टुँडिखेलमा निर्माण गरिने सिसाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करिब तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । जमीनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।

पर्यटनका लागि स्तम्भले ठूलो योगदान दिनेछ र दृश्यावलोकन स्तम्भबाट मनोरम दृश्यावलोकनका लागि दूरबिनको समेत व्यवस्था मिलाइने अध्यक्ष थापाले बताउनु भयो । एक पटकमा १५ जनाले अवलोकन गर्न मिल्ने उक्त दृश्यावलोकन स्तम्भको हाल डीपीआर निर्माण भइरहेको छ । एक हप्ताभित्र डिपिआरको काम सकिने र टेन्डरको प्रक्रिया अगाडि बढाइने बताएको छ ।

बन्दीपुरमा प्रत्येक वर्ष घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । गत वर्ष मात्रै एक लाख ५० हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेका थिए । बन्दीपुर घुम्न आउनेमध्ये ८० स्वदेशी र २० प्रतिशत विदेशी पर्यटक छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले दृश्यावलोकन स्तम्भ निर्माणपछि अझ यो सङ्ख्या बढ्ने अनुमान गरिएको बताए ।

यहाँ घुम्न आउने विदेशी पर्यटकमध्ये अमेरिका, थाइल्यान्ड, चीन, भारत, कोरिया र युरोपियन मुलुकका धेरै रहेका छन् । जाडो मौसम शुरु भएसँगै यतिबेला बन्दीपुरमा पर्यटकको भीड लागेको छ ।

बन्दीपुरमा हाल हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँ घर, वल्र्ड इन, बन्दिपुर प्यालेस, मगर भिजेललगायत साना–ठूला गरी ५७ वटा होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छ । ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*