बागलुङबाट प्रदेशसभामा जनमोर्चाका शाही विजयी

मंसिर १६, बाग्लुङ– बाग्लुङ क्षेत्र नम्बर- २ को प्रदेश ‘ख’ मा भएको उपनिर्वाचनमा बामगठबन्धन विजयी भएको छ । प्रदेशसभा सदस्यका लागि भएकाे साे निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थन पाएका राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले जित हात पारेका हुन् ।
शाहीले ११ हजार २३५ मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २ हजार ९७ मत अन्तरले पराजित गरेका हुन् । प्रतिद्वन्द्वी शेरचनले ९ हजार १३८ मत मात्र प्राप्त गरे । बागलुङ- २ (ख) बाट १० जना उम्मेदवार चुनावी मैदानमा थिए, जसमा २ जना स्वतन्त्र उम्मेदवार थिए ।
समाजवादी पार्टीका अशोककुमार विकले ३१६ मत ल्याउँदै तेस्राे स्थानमा रहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, संघीय राष्ट्रिय लोकतान्त्रीक मञ्चका अनिल कुमार राईले ८, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर आलेले ३३ र राप्रपाका गणेश बहादुर कुँवरले ३६ मत पाएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।