आईसीयूबाटै ‘सिद्धबाबा’ प्रहरीकाे नियन्त्रणमा

तामसालिङ खबर
१६ मंसिर २०७६, सोमबार १०:४९

मंसिर १६, बिराटनगर – करणीको आरोप लागेका कृष्णराज गिरी उर्फ कृष्णदासजी महाराज (सिद्धबाबा)लाई प्रहरीले एकाबिहानै नियन्त्रणमा लिएको छ ।

प्रहरीकाे टाेलीले उनलाई अस्पतालको आईसीयूबाटै नियन्त्रणमा लिएको हो । बिरामी भएकाे बहाना बनाएर विराटनगरस्थित विराट नर्सिङ होमकाे आइसीयूमा रहेका ‘सिद्धबाबा’लाई सोमबार बिहान चार बजे सुनसरीका डीएसपी विनोद शर्माको नेतृत्वमा गएकाे प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कृष्णदासलाई एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्‍याइएको छ । दिउँसो पक्राउ गर्दा बाबाका समर्थकको भीड लाग्ने र अवरोध सिर्जना हुन सक्ने अड्कल गरी प्रहरीले छापामार शैलीमा एका बिहानै पक्राउ गरेकाे बताइएकाे छ ।करणीको आरोप लागेका सिद्धबाबा हृदयघात भएको भन्दै विराट नर्सिङ होममा भर्ना भएका थिए । आफ्नै महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप उनीमााथि लागेकाे छ ।

काठमाडौंबाट चतराधाम पुगेकी एक महिला अनुयायीलाई गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् । पीडित महिलाको उजुरीपछि कृष्णदास बिरामी भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा भर्ना भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*