भीमफेदीकी ८४ वर्षीया पाख्रिन सम्बन्धविच्छेद गर्न अदालतमा
पुस १, हेटौडा – मकवानपुरको भीमफेदी गाउँपालिका–५ की ८४ वर्षीया टीकाकुमारी पाख्रिन सम्बन्धविच्छेदको निवेदन लिएर जिल्ला अदालत पुग्दा कर्मचारीहरू नै छक्क परे । किनकी जिल्लामा सबैभन्दा बढी उमेरकी वृद्धाले निवेदन लिएर आएको यो नै पहिलो घटना थियो ।
‘अदालतमा सम्बन्धविच्छेदका मुद्दा धेरै छन्,’ स्रेस्तेदार केशवराज कौशिक भन्छन्, ‘चारबीस पार गरिसकेकी वृद्धाले सम्बन्धविच्छेदको माग गरेको यो नै पहिलो घटना भयो।’ ७० वर्षीय श्रीमान् बुद्धबहादुर रुम्बासँग अंशसहित सम्बन्धविच्छेदको माग गर्दै उनी लौरोको सहारामा गत मंसिर २५ गते अदालत पुगेकी थिइन्। उनका पाँच छोरा र एक छोरी छन् ।
विवाह भइसकेका उनीहरू अलग छन्। श्रीमानले १९ वर्षअघि कान्छी भित्र्याए पनि टीकाकुमारी सहज रूपमै बसिरहेकी थिइन् । तर, पछिल्लो समय श्रीमानले कुटपिट गर्ने गरेको उनको भनाइ छ । ‘माया गर्ने बेलामा हेला गर्न थालेपछि कोसँगै बस्छ ?’ उनले भनिन् ।
मकवानपुर जिल्ला अदालतमा चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) मा सम्बन्ध विच्छेदका ३ सय २० वटा मुद्दा दर्ता भएका छन् । ती मध्ये एक सय ४६ वटा पुरुषबाट आएका हुन् । कुल मुद्दामध्ये एक सय ७२ वटा फस्र्यौट भइसकेको स्रेस्तेदार कौशिकले बताए । ०७५ भदौ १ गतेदेखि नयाँ संहिता कार्यान्वयनमा आएपछि सम्बन्धविच्छेदका लागि पुरुषलाई सहज भएको छ ।
मेलमिलापमार्फत सहमति हुन नसकेमा मुद्दा फैसला गर्न कम्तीमा एक वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था छ । नयाँ देवानी संहिताको भाग ३ (परिच्छेद ३) मा सम्बन्ध विच्छे दसम्बन्धी व्यवस् था छ । त्यसमा महिलासर ह पुरुषका लागि पनि व्यवस्था राखिएका छन्।
लगातार तीन वर्ष बेखबर रहेमा, अंगभंग हुने गरी कुटपिट गरेमा, शारिरीक र मानसिक हिंसा गरेमा श्रीमतीविरुद्ध पनि अदालत जान सक्ने व्यवस्था छ । ‘समानताका नाममा कानुनले पुरुषको सम्बन्धविच्छेद खुकुलो बनाएको छ,’ अधिवक्ता मदन दाहालले भने, ‘यसले सम्बन्धविच्छेद गर्न चाहने पुरुषहरूको संख्या अदालतमा बढेको हो।’
विवाह भएको वर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्नेहरू पनि छन्। गत आवमा विवाह गरेको ११ महिना नपुग्दै तीन जोडीले अदालतमा सम्बन्धविच्छेदको निवेदन दर्ता गराएका थिए । ’ नयाँ संहिता कार्यान्वयनमा आएपछि गत वर्ष जिल्ला अदालत मकवानपुरमा ६५ वर्ष पार गरिसकेका दुई वृद्धले पनि निवदेन दर्तँ गराएका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।






