नवोदय शिशु सदनले बाल कला-साहित्य महोत्सव गर्ने

पुस ३, हेटौंडा – मकवानपुरको नवोदय शिशु सदनले हेटौंडा बाल कला–साहित्य महोत्सव आयोजना गर्ने भएको छ । विद्यार्थीलाई अध्ययन सँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष कार्यक्रम सञ्चालन गदै आएको विद्यालयले अघिल्लो वर्षबाट महोत्सवको आयोजना थालेको हो ।
गुणस्तरिय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीको रुची अनुसार सिकाउँदै आएको नवोदयले यसवर्ष यही पुस २५ र २६ गते महोत्सवको आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । नेपाली भाषा, साहित्य तथा कलाका बारेमा शिक्षकदेखि विद्यार्थीसम्मलाई ज्ञान दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको विद्यालयका निर्देशक दीपेश जोशीले जानकारी दिए ।
यस वर्षबाट कलालाई पनि महोत्सवमा जोड्न लागिएको उनले बताए । महोत्सवले सिर्जनात्मक पठन संस्कृति, कलाको विविध पक्षहरुको समिश्रित शिक्षण प्रविधि र प्रक्रियाका बारेमा ज्ञान दिने जोशीले बताए । उनले महोत्सवले बालबालिकामा पहिचान सहितको आत्मनिर्भरता, समय सापेक्षितसहितको तार्किक, मोलिक सिर्जनात्मकता तथा शैक्षिक क्षेत्रको विकासमा सहयोग पुग्ने उल्लेख गरे ।
विद्यालयमै सञ्चालन हुने महोत्सवमा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, लेखिका राधा पौडेल, साहित्यकार अमर न्यौपानेसहितका साहित्यकार तथा कलाकारको सहभागिता रहने कार्यक्रम संयोजक सीएम रिमालले बताए । उनले महोत्सव बिहान साढे ९ बजेबाट दिउँसो साढे तीन बजेसम्म सञ्चालन हुने जानकारी दिए । महोत्सवमा करिब ६ हजार जनाको सहभागिता रहने विद्यालयको अनुमान रहेको छ ।
महोत्सवमा बाल कला–साहित्य सम्वन्धमा सर्जकहरुसँग छलफल, अबको शिक्षा कस्तो हुनुपर्ने भन्न्े विषयमा कार्यशाला, कथा लेखन, नाटक मञ्चन, कविता, मुक्तक, गजल लेखन र वाचन, कला प्रर्दशनी, पुस्तक पर्दशनीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
महोत्सवमा हेटौंडा उपमहानगरपालिका, काठमाडौं पब्लिकेशन, बाल कला सङ्ग्राहलय, सर्जक सञ्जाल मकवानपुर, नेपाल बालसहित्य समाजको सहकार्यमा आयोजना गरिएको हो ।