उदयपूरमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु

पुस २, उदयपुर – उदयपुरमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बिहान करिब सवा ९ बजे भारतीय नम्बर प्लेटको एस के ०१ पिबी ३०६८ नम्बरको बोलेरो उदयपुरगढी गाउँपालिका ३, गोठटारमा पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्थानीय टिका नारायण श्रेष्ठ, उनका भाइ मीनबहादुर श्रेष्ठ र अर्का स्थानीय ढकबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपूरका एसपी वीरबहादुर बुढा मगरले जानकारी दिनुभएको छ ।
मोरङ पथरी शनिश्चरे बस्ने श्रेष्ठ दाजुभाइ बोलेरो रिजर्भ गरेर आफन्त भेट्न उदयपुरगढी ३ आएका थिए । दुर्घटनामा घाइते भएका ५ जनाको स्थानीय स्वास्थ्य चौकी–उदयपुरगढीमा उपचार भइरहेको छ ।