नुवाकोटमा आइचर दुर्घटना हुँदा २ जनाको मृत्यु
पुस ६, बिदुर – नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा आइचार दुर्घटना हुदा दुइ जनाको मृत्यु भएको छ । बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर दुर्घटनामा परी अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा २ क ७९१० नम्बरको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–३ का १९ वर्षीय सुदीप तमाङ (सह–चालक) र खोटाङ जिल्ला घर भएका १९ वर्षीय अविरल तमाङको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
घाइते हुनेमा नुवाकोट ककनी गाउँपालिका–१ का २८ वर्षीय गणेश बलामी (चालक), सोही जिल्लाका विदुर नगरपालिका– ६ का ४५ वर्षीय सचितकुमार रिमाल, जाजरकोट जिल्ला भेरी नगरपालिका–३ का २२ वर्षीय शङ्करराज सुनार, सोही ठाँउका २७ वर्षीय हेमराज ठकुरी, ३० वर्षीय तिलक खत्री र १८ वर्षीय विमल सुनार रहेको प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।






