लोथर-थाकलटार जोड्ने सडक पुर्वअर्थमन्त्री पाण्डेद्वारा शिलान्यास
पुस १२, चितवन – राप्ती नगरपालिका वडा नम्बर १ को लोथरदेखि वडा नम्बर ११ थाकलटार जोड्ने सडक निर्माण हुने भएको छ । शुक्रबार राप्ती नगर १ बैद्यपानीमा भएको एक कार्यक्रमका बीच पुर्वअर्थमन्त्री तथा संघीय सांसद सुरेन्द्र पाण्डेले सडकको शिलान्यास गरेका छन ।
पुर्वअर्थमन्त्री पाण्डेले सांसद बिकास कोषमार्फत बिनियोजन गरेको ५० लाख बजेटबाट सो सडकको ट्रयाक खोल्नका लागी काम सुरु भएको हो । कार्यक्रममा पाण्डेले बिकास निर्माणको काममा ढिलासुस्ति नगर्न र अत्यन्त पारदर्शी ढंगबाट काम सम्पन्न गर्न निर्देशन दिए ।
पर्यटनको प्रचुर सम्भावना बोकेको राप्ती नगरपालिकामा सडक निर्माणका कामहरु द्रुत गतिमा हुनुपर्ने र सौराहासँग जोडेर पर्यटन रुट तयार गर्न पहल गर्नुपर्ने उनको भनाई छ । हरेक नागारिकको आर्थिक स्तरोन्नतिका लागि पर्यटन, कृषि तथा पुर्वाधार बिकासमा जोड दिन स्थातिय तहले ध्यान दिनुपर्ने उनले बताए ।
कार्यक्रममा नेकपा जिल्ल्ला इन्चार्ज तथा प्रदेश सांसद कृष्ण खनालले आफ्नो गाँउको नेता आफै हुनुपर्ने बताउदै हरेक बिकास निर्माणमा स्थानीयको सहभागिता हुनुपर्ने बताए । नेकपा राप्ती नगरपालिका इन्चार्ज तथा नगरपालिकका उपमेयर इमानसिहं लामाले ब्यक्तिगत स्वार्थका लागि कसैले काम नगर्न आग्रह गरे ।
बिकास निर्माणका लागि विभिन्न समितिहरु निर्माण गर्दा सबै क्षेत्रको पतिनिधित्व गराई पारदर्शी ढंगले काम गर्न उनले आग्रह गरे । कार्यक्रममा नेकपाका जिल्ला सदस्यहरु घनश्याम कँडेल, रामजी कँडेल, राप्ती नगर इन्चार्ज मान बहादुर स्याङ्बो, विभिन्न वडाअध्यक्षहरु लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
लोथरदेखि परेवाकोटको बैद्यपानीसम्म सडक निर्माण भइसकेको छ भने बाँकी हालको बजेटबाट थप साढे ८ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिने राप्ती १ का वडाअध्यक्ष सिद्दिलाल स्यांतनले जानकारी दिए । यसबाट राप्ती नगरपालिका १, ३ तथा ११ का बिकट गाँउका बासिन्दा लाभान्वित हुने उनको भनाई छ । सडक निर्माणका लागि स्थानियको सहभागितामा निर्माण समितिसमेत गठन गरिएको छ ।






