नेपाल भ्रमण वर्ष २०२० आजबाट सुरु, उद्घाटनको भव्य तयारी
पुस १६, हेटौडा – भ्रमण वर्ष २०२० आजबाट सुरु भएको छ । भ्रमण वर्षको करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित देशैभर एकैपटक औपचारिक उद्घाटन कार्यक्रम गरिदैछ । बेलुका ४ बजेदेखि भ्रमण वर्ष सुरु गर्ने तयारी छ भने उद्घाटन कार्यक्रम राती पौने ८ बजेसम्म जारी रहनेछ ।
यसैगरी, काठमाडौंको दशरथ रंगशालामा भ्रमण वर्ष २०२० को भव्य तयारी गरिएको छ । उक्त रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे औपचारिक शुभारम्भ गर्नुहुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने छ ।
समारोहमा सांस्कृतिक कार्यक्रम पनि हुनेछ । राष्ट्रिय गान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घ-संस्थाले परेड गर्नेछन् ।
उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुख, सातै प्रदेशका मुख्य मन्त्री, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, पर्यटन व्यवसायी, चर्चित कलाकार र दर्शकको सहभागितामा हुनेछ ।
आजै भ्रमण वर्षको राष्ट्रिय गीत समेत सार्वजनिक गर्ने कार्यक्रम रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । भ्रमण वर्षको यती मस्कट पनि आजै सार्वजनिक हुनेछ । भ्रमण वर्ष सचिवालयका अनुसार काठमाण्डौमा दशरथ रंगशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन् ।






