तिन नम्बर प्रदेशको नामाकरणको विरोध, आन्दोलनको तयारी

तामसालिङ खबर
१७ पुष २०७६, बिहीबार १०:१८

पुस १७, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न प्रदेशसभालाई निर्देशन दिने निर्णयको विरोध हुन थालेको छ । नेवार समुदायका अभियन्ताहरुले प्रदेशको नाम ‘नेवा ताम्सालिङ’ राख्न माग गर्दै नेकपा सचिवालयको निर्णयको विरोध जनाएका हुन् ।

अभियन्ता मल्ल के सुन्दरले नेकपा सचिवालयले गरेको निर्णयका सम्बन्धमा सबै नेवारहरुको ध्यानकर्षण भएको बताए । उक्त निर्णय गैर संवैधानिक र संघीयता विरोधी भन्दै उनले प्रदेशको नाम बाग्मती कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए । समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले नेवा ताम्सालिङ राज्य बनाउनुपर्छ भनेर पहिले देखि नै आन्दोलन जारी रहेको स्मरण गर्दै नेकपाले गरेको निर्णयको विरुद्ध नेवार समुदाय एकजुट हुने बताए ।

‘आन्दोलनको तयारी भइरहेको छ । यसले जस्तोसुकै तानाशाहीलाई पनि सडकमा ल्याएर पछार्ने स्थिती आउँछ’, उनले भने । राष्ट्रिय एकताका लागि सबै जाति, भाषा, धर्म र संस्कृतिलाई मुलधाररमा ल्याउन संघीयता आएको भन्दै उनले प्रदेश नम्बर ३ लाई नेवा ताम्सालिङ नामाकरण गर्नुपर्ने बताए ।

उनले संविधान संशोधनका विषयमा आफ्नो पार्टीसँग भएको सम्झौताबाट प्रधानमन्त्री पछि हटेको प्रति कडा टिप्पणी समेत गर्नुभएको छ । नेकपाको सचिवालय बैठकले प्रदेश नम्बर ३ को राजधानी हेटौडा र नाम बाग्मती राख्ने निर्णय गर्दै प्रदेशसभालाई निर्देशन दिएको थियो । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडलले नाम र राजधानीका विषयमा शीर्ष नेतृत्वबाट निर्देशन आउनुपर्ने बताउँदै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*