हेटौंडा राजधानी टुंगिएपछि १६/१६ मिटर भत्किने निश्चित
पुस २३, हेटौडा – प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती रहने लगभग निश्चित भएको छ । सत्तारुढ दल नेकपा नेतृत्वले पुनः राजधानी हेटौंडा र नाम बाग्मती मानेर जान निर्देशन दिएपछि प्रदेशसभा सदस्यहरु सकारात्मक देखिएका हुन् । राजधानी विवाद टुंगिने देखिएको छ । राजधानी सँग-सँगै हेटौंडाको सडक विस्तार विवाद पनि टुंगिने संकेत देखिएको छ ।
प्रदेश ३ को राजधानी हेटौंडा कायम हुँदा हेटौंडा बजारको सडक विस्तार हुने संकेत देखा परेको छ । विगत लामो समय देखि हेटौंडाको मुख्य सडक फराकिलो पार्न प्रयास भएका छन् । तर, राजनीतिक नेतृत्वकै कारण सडक विस्तार रोकिँदै आएको थियो । गत हप्ता शुक्रबारदेखि आइतबारसम्म मुख्यमन्त्री निवासमा भएको नेकपा संसदीय दलको बैठकमा हेटौंडाको सडकको विषयमा कुरा उठेको थियो । केही सांसदले हेटौंडाको सडक साँघुरो भएको भन्दै राजधानीको लागि उपयुक्त नभएको धारणा राखेका थिए ।
सार्वजनिक कार्यक्रमहरुमा हेटौंडाको सडकको विषयमा नकारात्मक टिक्का टिप्पणी हुने गरेको थियो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई पनि राजधानी हेटौंडा कायम भएपछि सडक विस्तार गरेर व्यवस्थित बनाउन नैतिक दबाब परेको एक प्रदेशसभा सदस्यले बताए ।
‘मुख्यमन्त्रीले पहिला हेटौंडाको सडक विस्तार गरेर व्यवस्थित गर्नुपर्छ । मुख्यमन्त्री पौडेलले हेटौंडा बजार १६/१६ मिटर दायाँबायाँ भत्किने उदघोष गरिसकेका छन् । उनले आफू सडक विस्तारको विरोधी नभएको भन्दै पहिला आफ्नै घर भत्काएर सडक फराकिलो पार्ने काम सुरु गर्ने बताएका थिए । मुख्यमन्त्रीको उदघोष र प्रदेश सांसदहरुको सडक विस्तार गर्नुपर्ने दबाबले पनि अब हेटौंडा बजारको मुख्य सडक फराकिलो हुने संकेत देखिएको हो ।
केही समयअघि डिभिजन सडक कार्यालय, हेटौंडालाई पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि चतिवनको लोथरसम्म २५/२५ मिटर सडक फराकिलो पार्न सुरु गरेको थियो । राजनीतिक दबाबका कारण सडक विस्तार रोकिएको थियो । उक्त सडक विस्तार गर्नुपर्ने कार्य अहिलेसम्म पनि सुरु हुन सकेको छैन ।






