प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्ने सहमति
पुस २५, हेटौडा – नेकपाको प्रदेश ३ संसदीय दलले प्रदेश ३ को राजधानी हेटौंडा र बाग्मती राख्ने निर्णय गरेको छ । शुक्रबार हेटौडामा बसेको संसदीय दलको बैठकले राजधानी र नामबारे केन्द्रले दिएको निर्देशन अनुसार नै निर्णय गरेको हो ।
बैठकपछि प्रदेश ३ का मुख्यमन्त्री समेत रहेका नेकपा प्रदेश ३ संसदीय दलका नेता डोरमणी पौडेलले राजधानी हेटौडा र नाम बाग्मती सहमति भएको बताए । यसअघि प्रदेश ३ को राजधानी हेटौडा राख्न नेकपा सचिवालयले निर्देशन दिएको थियो ।
उक्त निर्देशनप्रति नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका थिए । नेकपा प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्यले केन्द्रले गरेको निर्णय प्रकृया नमिलेको भन्दै दलको बैठकमा व्यापक छलफल गरेर सहमति निकालिएको बताइन् ।






