कर्णाली प्रदेशको वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गरिने

तामसालिङ खबर
५ माघ २०७६, आईतवार ०९:११

माघ ५, वीरेन्द्रनगर – कर्णाली प्रदेशको वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ (बुद्ध शिक्षा प्रवचन) कार्यक्रम शुरु भएको छ । नेपालमै पहिलो पटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थल मै ‘धम्म देशना’ को शुभारम्भ गरिएको हो।

कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुद्धसरोवर निर्माणले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने  बताए । उनले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सहित प्रस्तावना लिएर मन्त्रालय समक्ष सहयोगको आग्रह गर्दै भने, ‘सहयोग सङ्कलन गरेर निर्माण सम्पन्न गर्न समय लाग्न सक्छ, त्यसैले प्रस्तावना ल्याएर आउनुस्, समपूरक र विशेष अनुदान मार्फत आर्थिक सहयोग प्रदेश सरकारले उपलब्ध गराउँदछ ।’ उनले भने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सचेतक सीता नेपालीले वीरेन्द्रनगरको मुटु बुद्धपथमै बुद्ध सरोवर निर्माण गरिनु गौरवको विषय भएको बताए । धम्म देशना शुभारम्भमा बौद्धधर्मगुरु प्रेमदोर्जे लामाले जिल्ला प्रहरी कार्यालयमा बुद्धमूर्तिलाई सम्मानजनक रुपमा राख्न आग्रह गरे ।

माघ ९ गतेसम्म सञ्चालन हुने ‘धम्म देशना’बाट करिब रु ५० लाख रकम सङ्कलन हुने अपेक्षा गरिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको बुद्ध सरोवर निर्माणमा न्यूनतम रु नौ करोडदेखि अधिकतम रु १२ करोड लागतको अनुमान गरिएको व्यवस्थापन समितिका अध्यक्ष पञ्चसिंह रोकाया खाम्पाले बताए ।

आठ कट्ठा क्षेत्रफलमा रहेको प्रस्तावित बुद्ध सरोवरमा ३५ फिट अग्लो बौद्ध झण्डाअनुरुप पानीको फोहोरा पनि निर्माण गरिनेछ । धम्म देशनाको शुभारम्भ समारोहमा करिब रु एक लाख बराबरको दान सङ्कलन भइसकेको छ । आयोजकका अनुसार कर्णाली प्रदेशसभा सदस्य सोशिला शाहीले रु १० हजार १००, गुरुङ समाज परिषद्का केन्द्रीय सदस्य खगेन्द्रबहादुर गुरुङले रु ५१ हजार, स्थानीय झकबहादुर सिजापति मगरले रु ३१ हजार १०१ सहयोग गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*