बागमती प्रदेश लोकसेवा आयोगमा दुइ सदस्य नियुक्त, अर्को वर्षबाट कर्मचारी भर्ना हुने
माघ ६, हेटौंडा – बागमती प्रदेश लोकसेवा आयोगमा दुई सदस्य नियुक्त भएका छन् । अध्यक्ष भने यसअघि नै नियुक्त गरिए पनि बाँकी दुई सदस्य सोमबार नियुक्त गरी आयोगलाई पूर्णता दिइएको छ । आयोगमा सदस्यका रुपमा पूर्व सह-सचिव सुर्दशन ढकाल र टिचिङ अस्पतालमा अध्यापन गराउँदै आएकी शर्मिला न्यौपानेले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँको सिफारिसमा दुईजना सदस्य सिफारिस गरिएको हो । सिफारिस समितिको आइतबार बसेको बैठकले ढकाल र न्यौपानेलाई आयोगको सदस्य बनाउने निर्णय गरेको हो । उनीहरुलाई आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले सपथ ग्रहण गराए ।
प्रदेश प्रमुख विष्णु प्रसाईं, मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठलगायतको उपस्थितिमा सपथ ग्रहण गराइएको थियो । आयोग अध्यक्षमा श्रेष्ठ कात्तिक २९ गते नियुक्त गरिएको थियो । प्रदेशसभाबाट गतभदौ १४ गते लोकसेवा आयोग गठन सम्बन्धि विधेयक पारित भएको थियो । प्रदेश लोकसेवा आयोगका पदाधिकारीको सेवा अवधि ६ वर्ष तोकिएको छ । लोकसेवा आयोगले पूर्णता पाए सँगै प्रदेशलाई आवश्यक कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । कर्मचारीको चरम अभाव खेपिरहेको प्रदेश सरकार चुस्तदुरुस्तरुपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास प्रदेश सरकारको रहेको छ ।
कर्मचारी भर्ना गर्ने बाटो खुल्ला भएपनि आयोगले यसवर्ष विज्ञापन गर्न नपाउने भएको छ । लोकसेवाले एक पदका लागि वर्षमा एकपटक मात्र विज्ञापन गर्न पाउने प्रावधान अनुसार चालु आर्थिक वर्षमा संघीय सरकारले प्रदेश र स्थानीय तहका लागि आवश्यक कर्मचारीको भर्ना प्रक्रिया अन्तिम चरणमा पु¥याइसकेको छ ।
संघीय सरकारले यसवर्ष प्रदेश र स्थानीय तहका लागि कर्मचारी विज्ञापन भइसकेको कारण यसवर्ष प्रदेशले कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउन नसक्ने बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन उपसचिव बालकृष्ण निरौलाले बताए ।






