बागमती प्रदेशको मन्त्रिपरिषद विस्तार गर्ने तयारी

तामसालिङ खबर
१० माघ २०७६, शुक्रबार ०५:४०

माघ १०, हेटौंडा – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल मन्त्रिपरिषद विस्तारको परामर्शमा जुटेका छन् । मंगलबार संघीय राजधानी पुगेका पौडेलले बुधबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर मन्त्रिपरिषद विस्तारका बारेमा परामर्श गरेका हुन् ।

प्रदेशसभा सदस्यसमेत रहेका पौडेल निकट नेकपा नेता दीपक निरौलाले माघ महिनाभित्र बागमती प्रदेशको मन्त्रिपरिषद बिस्तार हुने बताए । नेकपा स्रोतका अनुसार केशव स्थापितलाई बर्खास्त गरेपछि मुख्यमन्त्रीसँगै रहेको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी रामेश्वर फुयालले पाउने निश्चित भएको छ । हाल प्रदेशसभामा नेकपाका प्रमुख सचेतक रहेका फुयाल यसअघि संविधानसभा सदस्य भइसकेका नेता हुन् ।

फुयाल मन्त्री भएपछि प्रमुख सचेतक निरौला बन्ने सम्भावना छ । उनी यसअघि सचेतक थिए, तत्कालीन माओवादीका बुद्धिमान माझीलाई उनले सचेतक छाडेका थिए । ७ वटा मन्त्रालय रहेकाले फुयाल मन्त्री भएपछि महिलासहित अन्य केहीलाई राज्यमन्त्री बनाउने तयारी छ ।

राज्यमन्त्रीमा पूर्वमाओवादीबाट मकवानपुरकी कुमारी मोक्तान प्रमुख दाबेदार हुन् । यसअघिनै उनी मन्त्री बन्ने भनिए पनि बादल पक्ष भएकै कारण अन्तिममा उनको नाम हटाएर युवराज दुलाललाई बनाइएको थियो । मोक्तान पहिलो संविधानसभामा पनि मकवानपुरबाट निर्वाचित भएकी थिइन् ।

पूर्वमाओवादीबाट प्रचण्डको गृहजिल्ला चितवनकी कन्चन खनालले पनि राज्यमन्त्रीका लागि लबिङ गरिरहेकी छन् । त्यस्तै दोलखाका विशाल खड्का र सिन्धुलीका बुद्धिमान माझी पनि राज्यमन्त्रीका दाबेदार हुन् । पूर्वएमालेबाट भने ललितपुरका ज्ञानेन्द्र शाक्य राज्यमन्त्री बन्ने सम्भावना छ । बसन्त मानन्धर मन्त्रीका दाबेदार हुन् । महिलाबाट दोलखाकी सरस्वती बस्नेत, भक्तपुरकी सरस्वती बाटी, काठमाडौंकी रमा आले मगर राज्यमन्त्रीका दाबेदार हुन् । प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले दोलखाकी रचना खड्कालाई राज्यमन्त्री बनाउन चाहेको स्रोतले जनाएको छ ।

प्रदेश राजधानी काभ्रे लैजान लबिङ गरेका चन्द्र लामा पनि राज्यमन्त्रीका दाबेदार हुन् । उनलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाउन लबिङ भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*