तामाङ समुदायको आज सोनाम ल्होछार, देश विदेशमा बिबिध कार्यक्रम गरि मनाईदै
माघ ११, हेटौडा – तामाङ समुदायले सास्कृतिक पर्बको रुपमा आज नयाँ वर्ष अर्थात सोनाम ल्होछार पर्व मनाउँदैछन् । पर्वको अवसरमा वागमती प्रदेश सरकारले आज शनिबार परेकोले हिजो (शुक्रबार) नै सार्वजनिक विदा दिएको थियो ।
सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक तथा साँस्कृति पर्व हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ । चन्द्र मासमा आधारित मञ्जुश्री पात्रो अनुसार आजदेखि तामाङ समुदायले सुंगु (ढ्वा ल्हो) वर्षलाई विदाई गरी मुसा (नाम्युङ) वर्षलाई स्वागत गरेका छन् । यो २८५६ सोनाम ल्होछार हो । ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना गरिने प्राचिन पद्धति हो ।
हिजोबाट नै ल्होछार सुरु भए पनि आज मुख्य दिन हो । आज घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ । ल्होछारको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भनिएता पनि नआउने भएको छ । कार्यक्रमको उद्घाटन साँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले गरिने भएको छ । बिहान ११ बजे शान्तिबाटिका रत्नपार्कबाट निकालिने झाँकीसहितको र्याली दिउँसो १ बजे टुँडिखेलमा पुगेर सभामा परिणत हुने ल्होछार मूल समारोह समितिका संयोजक नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए ।
त्यस्तै, बागमती प्रदेशको राजधानी हेटौडामा आज शनिबार सम्म चल्ने दोस्रो ल्होछार महोत्सब शुक्रबारबाट शुरु भएको छ । ल्होछारको मुख्य दिन आज बागमती प्रदेशको उपसभामुख राधिका तामाङबाट उदघाटन गरिने कार्यक्रम रहेको छ । महोत्सब स्थल टिसिएन चौरबाट निकालिने झाँकीसहितको र्याली बजार परिक्रमा गरि दिउसो १२ बजे महोत्सब स्थलमै पुगेर सभामा परिणत हुने ल्होछार मूल समारोह समितिका संयोजक ह्याङ्ला तामाङ समाजका अध्यक्ष आत्माराम मोक्तानले बताए ।
नेपालका तामाङसहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेशिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरक–फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइँदैछ ।
ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र बिभिन्न राजनैतिक दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन् ।






