हेटौडामा आज ल्होछार महोत्सब, बागमती प्रदेशको उपसभामुख राधिका तामाङबाट उदघाटन हुने
माघ ११, हेटौडा – तामाङ समुदायको सास्कृतिक पर्व २८५६ जीवा ल्हो/मुसा वर्ग सोनाम ल्होछारको अवसरमा आज हेटौँडामा ‘दोस्रो सोनाम ल्होछारको महोत्सव’ हुदै छ । शुक्रबार सातौ सेलो नृत्य प्रतियोगिता गर्दै शुरु भएको महोत्सबमा आज दोस्रो दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने छ ।
हेटौडाको टिसिएन चौर (भुटनदेबी पार्क) मा हुने ल्होछार सास्कृतिक महोत्सबमा पहिलो पटक नेपाल झाक्री संघको महिला झाक्रीहरुको बिशेष प्रस्तुति संगै बरिष्ठ सेलो गायक प्रेम लोप्चन, गायक तथा संगीतकार प्रकाश तामाङ, अविराम मोक्तान, अनराज मोक्तान, धिरेन तामाङ, सुजना रुम्बा, साम्तेन तामाङ, शेरब रुम्बा, लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने महोत्सब संयोजक आत्माराम मोक्तानले बताए ।
आज घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ ।
अहिले केही समय पछि शुरु हुने बृहत र्यालीमा भेषभुषा सहित नेपाल झाक्री संघको महिला झाक्रीहरुको सहभागितामा महोत्सब स्थलबाट हेटौडा बजार परिक्रमा गरि पुन: टिसिएन चौरमै पुगेर महोत्सबको उदघाटन कार्यक्रम रहेको छ । बागमती प्रदेशको उपसभामुख राधिका तामाङले उदघाटन गर्ने कार्यक्रम रहेको संयोजक मोक्तानले बताए ।
नेपालका तामाङसहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेशिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरक–फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइँदैछ ।
ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र बिभिन्न राजनैतिक दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन् ।






