मकवानपुरको शिखरकटेरीमा जन्तीबस दुर्घटना हुँदा ४ मृत्यु, ५२ घाइते

तामसालिङ खबर
२२ फाल्गुन २०७६, बिहीबार ०७:२२

फाल्गुन २२, हेटौंडा – मकवानपुर गढीगाउँपालिका वडा नम्बर २ शिखरकटेरी गैरीभञ्ज्याङमा जन्तीसहित बेहुलाबेहुली लिएर फर्किएको बस दुर्घटना हुँदा ४ जना मृत्यु भएको छ । मकवानपुरगढीको जीतपुरभञ्जाङबाट सुकौरातर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस बुधबार साँझ गौरीभञ्जाङमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा मकवानपुरगढी गाउँपालिका ७ बस्ने ३२ वर्षीय सोमबहादुर रुम्बा, सोही ठाउँका सोमबहादुर मोक्तान, २४ वर्षीय सुरज लो र नाम नखुलेका एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुरज लोको चितवनको भरपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

मकवानपुर गढिको जीतपुर भञ्ज्याङबाट सुकौरा सातकन्या जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको जन्ती बोकेको बस अनियन्त्रित भई सडक छेउ भित्तामा ठोक्किएर पल्टिएको थियो । दुर्घटनामा ५२ जना घाइते भएका छन्, जसमा १८ जना महिला र ३४ जना पुरुष रहेका छन् । दुर्घटनामा घाइते भएकामा ४ जनाको अवस्था गम्भिर, २२ जनाको मध्यम र २६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये २८ जनाको हेटौंडा अस्पतालमा र बाँकीको चुरेहिल अस्पतालमा उपचार भईरहेकोमा ३ जना चितवन रिफर गरिएको प्रहरीले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*