विश्व बजारमा मास्कको ठगीधन्दा व्यापक, एक व्यक्तिले २३ लाख रुपैयाँ गुमाए

तामसालिङ खबर
२४ फाल्गुन २०७६, शनिबार २३:५९

एजेन्सी – विश्वभर फैलिइरहेको कोरोना भाइरसका कारण बेलायतमा ठगी धन्दा पनि फस्टाइरहेको छ । यसै क्रममा कोरोना भाइरसबाट आतंकित मानिसलाई मास्क ल्याइदिने भन्दै करोडौं ठगी भएको समाचार बाहिर आएको छ । गत महिनादेखि नै मास्क ल्याइदिने नाममा कैयौं मानिसमाथि ठगी भइरहेको रोइटर्सले जनाएको छ ।

कोरोना भाइरसबाट त्रसित मानिसहरूलाई सुरक्षित मास्क ल्याइदिने भनेर अनलाइनमा विभिन्न सामग्री पठाउँदै एक समूहले उक्त ठगी गरेको समाचारमा उल्लेख गरिएको छ । समाचार अनुसार कोरोना भाइरसबाट आतंकित मानिसलाई मास्क ल्याइदिने भन्दै हालसम्म विभिन्न समूहले ८ लाख पाउण्ड (झण्डै १२ करोड नेपाली) ठगिसकेको बेलायती प्रहरीले शुक्रबार जानकारी दिएको छ ।

प्रहरीका अनुसार कोरोना भाइरसबाट सुरक्षित हुन चाहने मानिसहरुलाई ठगी गर्न भन्दै एक समूहले अनलाइनमा एक विधि पनि अपनाएको छ । ठगहरुले बेलायतको रोग नियन्त्रण केन्द्र तथा विश्व स्वास्थ्य संगठनले पठाएको भन्दै मानिसहरुलाई विभिन्न इमेल पठाउने गरेको प्रहरीको भनाइ छ ।

ठगी गर्ने समूहको विश्वास गरेर मानिसहरूले अनलाइनमा नै भकाभक पैसा तिरेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै बेलायतको प्रहरीले भाइरस फैलिँदै गएपछि ठगी गर्नेको संख्या पनि बढ्ने चेतावनी दिएको छ । बेलायतको नेशनल फ्रड इन्टेलिजेन्स ब्यूरोले फेब्रुअरी १० देखि मास्कको नाममा २१ वटा ठगीका घटना भएको बताएको छ । ब्यूरोका अनुसार एक पीडितले मास्क ल्याइदिन्छु भन्ने समूहलाई १५ हजार पाउण्ड (२३ लाख) तिरिसकेको तर हालसम्म मास्क पाएका छैनन् ।

सुरुमा चीनको वुहानमा देखा परेको कोरोना भाइरस विश्वभर फैलिँदै गएपछि नाक-मुख छोप्ने मास्कको माग बढिरहेको छ । हाल उत्तर अमेरिका, भारत, चीन, मध्यपूर्व र युरोपमा मास्कको माग बढेको हो । बेलायतमा पनि मास्कको माग बढिरहेको छ । माग बढ्दै गएपछि बेलायती अधिकारीहरुले मास्क जस्ता अत्यावश्यक सामग्रीको भाउ नबढाउन व्यापारीहरूलाई चेतावनी दिएका छन् ।

अनलाइन शपिङमा डिसइन्फेक्टेन्ट र स्यानिटाइजर्सको भाउ सामान्य अवस्थामा भन्दा ४० प्रतिशत वृद्धि हुन थालेपछि अधिकारीहरुले भाउ नबढाउन व्यापारीलाई चेतावनी दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*