अमिलो पानी महोत्सव तथा डम्फू सेलो कार्यक्रम हुने
फाल्गुन २५, काठमाडौं – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा ‘अमिलो पानी महोत्सव तथा डम्फू सेलो साँस्कृतिक’ कार्यक्रम हुने भएको छ । साझा भोथाङ संस्थाले राजधानीमा पत्रकार सम्मेलन गर्दै चैत्र १९ गते चौथो अमिलो पानी महोत्सवको विषयमा जानकारी गराएको हो ।
साझा भोथाङका संयोजक कर्मा लामाले नेपाल भ्रमण वर्षको अवसरमा भव्य रुपमा अमिलो पानी महोत्सव गर्ने योजना भएपनि कोरोना भाइरसका कारण केही मात्रामा प्रभावित भएको बताए । स्थानीय तहमा कार्यक्रम गर्ने भएतापनि यसको महत्व र प्रवद्र्धन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आवश्यक भएको पत्रकार सम्मेलनमा लामाले जानकारी दिए ।
‘सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका देशकै मुख्य पर्यटकीय गन्तव्य हो । पाँचपोखरी भन्ने वित्तिकै यहाँको धार्मिक आस्था महत्वप्रति सबैको विश्वास छ,’ संयोजक लामाले भने,‘यही ठाउँमा पर्छ भोथाङ । भोथाङकै आँगनमा रहेको अमिलो पानी देशकै सम्पती हो । यसको प्रवद्र्धनका लागि पनि महोत्सव गर्दैछौं ।’
उनका अनुसार आगामी चैत्र १९ गते भोथाङको वडा ३ मा उक्त कार्यक्रम हुने छ । कार्यक्रममा स्थानीय मौलिक कला संस्कृति र परम्परालाई प्रवद्र्धन गर्ने उदेश्यका डम्फू सेलो साँस्कृतिक कार्यक्रम समेत हुने छ । यसका लागि स्थानीय कलाकार, ताम्बाहरुले स्थानीय भाषामा डम्फू सेलोहरु समेत प्रस्तुत गर्ने छ ।






